×

भोलि उपत्यका बन्द गर्ने राजावादीको घोषणा, जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गर्यो कोटेश्वर, बल्खु र सिफल क्षेत्रमा निषेधाज्ञा

images

 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रावप्रपाका अध्यक्ष कमल थापा र आफ्ना सांसद दीपकबहादुर सिंहलाई बिनाशर्त रिहाइ गर्न माग गरेको छ । आइतबार केन्द्रीय कार्यालय, धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका नेता–कार्यकर्ताको रिहाइ नगरिए राप्रपाले आन्दोलनको थप कार्यक्रम घोषणा गर्ने उनले बताए । ‘राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा कार्यसम्पादन समितिका सदस्य सांसद दीपकबहादुर सिंह र गिरफ्तारमा पर्नुभएका सबैको अविलम्ब र बिनाशर्त रिहाइ गर्न राप्रपा सरकारसँग माग गर्दछ । गिरफ्तार हुनुभएका नेता, कार्यकर्ताहरुको रिहाइ नगरिए राप्रपाले आन्दोलनको थप कार्यक्रम घोषणा गर्नेछ,’ श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी लगायतका माग राखी भएको शान्तिपूर्ण प्रदर्शनका क्रममा आइतबार निषेधित क्षेत्र नतोकिएको नारायणचौरमा समेत प्रशासनिक हस्तक्षेप भएको भन्दै राप्रपाले भर्त्सना गरेको छ ।

प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष थापा र अन्य सात जनालाई प्रशासनले नियन्त्रणमा लिएको थियो । गिरफ्तार भएकालाई भेट्न जाने क्रममा सांसद सिंहलाई प्रहरी परिसरभित्रै नियन्त्रणमा लिइएको थियो । 

राप्रपा नेपालले यस घटनालाई ‘अप्रजातान्त्रिक, निरंकुश, सर्वसत्तावादी र हिंस्रक शैली’को संज्ञा दिएको छ। नेपालको संविधानले दिएको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र संघसंस्था खोल्ने अधिकारमाथि राज्य आफैँले प्रहार गरेको आरोप उसले लगाएको छ।

‘संविधानको धारा १६, १७, २६९, र २७० अनुसार नागरिकलाई सम्मानपूर्वक बाँच्न, बोल्न, र संगठन खोल्न पाउने अधिकार छ। राज्यले यी अधिकारमाथि अतिक्रमण गरी गम्भीर संवैधानिक उल्लंघन गरेको छ’,  भनेका छन् । 

प्रहरीले नियन्त्रणमा लिएपछि नेताहरूको रिहाइको माग गर्दै काठमाडौंको कालोपुलमा आइतबार बेलुकी पुत्ला जलाएका हुन्। 

साथै राजावादी समूहले भोलि (जेठ १९ गते) उपत्यका बन्द गर्ने घोषणा गरेका छन् । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै भोलि उपत्यका बन्दको घोषणा गरेका हुन् । 

साथै काठमाडौंको कोटेश्वर, बल्खु र चाबहिलस्थित सिफल चौर क्षेत्रमा निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विज्ञप्ति जारी गर्दै दुई महिनासम्मका लागि निषेधाज्ञा जारी गरिएको जनाएको छ ।

आइतबार​ १९ जेठ २०८२ ०८:०९ PM मा प्रकाशित

प्रतिक्रिया