×

पूर्वप्रधानमन्त्रीद्वारा जेल सजाय माफीका लागि आग्रह

images

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राद्वारा जेल सजाय माफीका लागि आग्रह गर्दै थाई दरबारमा निवेदन दिनुभएको छ । 

थाइल्याण्डको जेलमा रहेका पूर्वप्रधानमन्त्री थाक्सिनले सरकारमार्फत् शाही माफीका लागि अनुरोध गरेको सरकारका एक मन्त्रीले बिहीबार बताउनुभएको हो । 

सन् २००६ मा भएको सैनिक ‘कू’ बाट अपदस्थ भएका ७४ वर्षीय अर्बपति लाई १५ वर्षको आत्मनिर्वासनबाट फर्केलगत्तै गत साता जेल पठाइएको थियो ।

उहाँको घर फिर्तीसँगै फेउ थाई पार्टी धेरै सैन्य समर्थक पार्टीहरूसँग गठबन्धनमा सरकारमा फर्केको थियो । यसले जेलको समय कटौती गर्न एक सम्झौता भएको थियो भन्ने व्यापक अड्कलबाजीलाई बढावा दिएको छ ।

कामचलाउ न्यायमन्त्री विसानु क्रे–ङमले थाक्सिनले भ्रष्टाचार र शक्तिको दुरुपयोग गरेको अभियोगमा आठ वर्षको जेल सजाय भोगिरहेकाले माफीका लागि निवेदन दिएको जानकारी दिनुभयो ।
  
“हामीलाई अनुरोध प्राप्त भएको छ, बाँकी प्रक्रियाअनुसार हुनेछ,” विसानुले सञ्चारकर्मीसँग भन्नुभयो । 

यो प्रक्रियामा कति समय लाग्छ भन्ने प्रश्नमा विसानुले भन्नुभयो, “यो विशुद्ध रूपमा शाही अनुग्रहमा आधारित छ । सरकारबाट प्रक्रिया लामो छैन, तर यो थाइ नरेशको सोच र निर्णयमा निर्भर गर्दछ ।

थाई कानुनअनुसार राजा महा वजिरालोङकोर्नसँग पुग्नुुअघि कैदीहरूले न्यायमन्त्रीबाट प्रधानमन्त्रीमार्फत प्रिभी काउन्सिलमा क्षमादानको निवेदन दिन सक्छन् ।

अधिकारीहरुका अनुसार सबै कागजी प्रक्रिया पूरा भएमा यो प्रक्रिया एकदेखि दुई महिनासम्म लाग्छ ।

थाक्सिन आधुनिक थाई इतिहासमा सबैभन्दा प्रभावशाली तर विभाजनकारी व्यक्तिहरू मध्ये एक मानिनुहुन्छ । 

सन् २००० कोे सुरुतिर उहाँको पपुलिस्ट नीतिका कारण लाखौं ग्रामीण थाईहरूले उहाँलाई प्रधानमन्त्री चुनेका थिए । उहाँलाई देशको राजावादी र सेना समर्थक प्रतिष्ठानले निन्दा गरेको छ । जसले विगत दुई दशकको अधिकांश समय उहाँ र उहाँका सहयोगीहरूलाई सत्ताबाट बाहिर राख्ने प्रयासमा बिताएको छ । 

बिहीबार १४ भदौ २०८० ०६:३४ PM मा प्रकाशित

प्रतिक्रिया