×

प्रधानमन्त्री प्रचण्ड र प्रमुख दलका प्रमुख सचेतकबीच छलफल

images

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा विभिन्न राजनीतिक दलका मुख्य सचेतकसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा सरकारले अगाडि बढाएका महत्वपूर्ण विधेयकको प्रक्रिया अगाडि नबढेकामा चासो व्यक्त गर्दै प्रधानमन्त्रीले संसद्को काम कारबाहीलाई थप प्रभावकारी बनाउन आग्रह गर्नुभएको हो ।

छलफलमा नेपाली कांग्रेस मुख्य सचेतक रमेश लेखक, नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सहभागी हुनुहुन्थ्यो ।

सरकारले अगाडि बढाएको महत्वपूर्ण विधेयक प्रक्रियामा लैजान ढिलाइ भएकामा चासो व्यक्त गर्दै प्रधानमन्त्रीले संसदीय गतिविधिलाई थप प्रभावकारी बनाउन प्रमुख सचेतकसँग छलफल भएको प्रधानमन्त्री प्रचण्डका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारका अनुसार सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकका सम्बन्धमा भइरहेको ढिलाइका बारेमा प्रधानमन्त्रीले चासो राख्नुभएको थियो ।

“प्रधानमन्त्रीले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकको काम के हुँदैछ भनेर उहाँले चासो राख्नुभएको थियो”, प्रमुख सचेतक परियारले भन्नुभयो, “कानुन, न्याय तथा मानवअधिकार समितिले उपसमिति बनाएर छलफल सकेको र प्रतिवेदन लेखनको काम भइरहेको जानकारी गराएको छु ।”

यस्तै प्रमुख सचेतक परियारले संसदीय समितिको सभापति चयनमा विलम्ब हुँदा प्रभावकारी काम गर्न कठिनाइ भएका विषयमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । 

छलफलमा संसद्मा जारी अवरोध हटाउने विषयमा समेत सो अवसरमा छलफल भएको थियो । यस्तै प्रधानमन्त्री प्रचण्डले आजै प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुभएको थियो ।

सोमबार १५ साउन २०८० १२:१६ PM मा प्रकाशित

प्रतिक्रिया