×

बालुवाटारमा सत्तागठबन्धनको बैठक बस्दै, मुख्य एजेन्डा चुनावी तालमेल

images

काठमाडौँ । स्थानीय तह निर्वाचनबारे रणनीति बनाउन सत्ता गठबन्धन दलको बैठक बस्दै छ । स्थानीय तह निर्वाचन तयारी, प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी गर्न गठबन्धन बैठक बस्ने तय भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।

गठबन्धनका दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी यसअघि नै स्थानीय तहको चुनावमा पनि गठबन्धन गर्नुपर्ने पक्षमा रहेका बेला कांग्रेसले पनि सोही अनुरुपको निर्णय गरेपछि अब तालमेलको मोडालिटी लगाइन लागिएको हो ।

कांग्रेस नेता प्रकाशमान सिंहले बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा तालमेलका लागि मोडालिटी तय हुने बताएका थिए । तालमेल गर्न नहुने बताइरहेका कांग्रेस नेताहरुप्रति इंगित गर्दै उनले विशेष परिस्थितिमा गठबन्धन बनेकाले निरन्तरता हुने बताएका थिए ।

आजको बैठकमा महानगरहरूमा कहाँ कसले लिने भन्नेमा प्रारम्भिक छलफल गर्ने तयारी रहेको स्रोतले जनाएको छ। चुनाबमा अहिलेदेखि नै कहाँ कसले उम्मेदवारी दिने टुंग्याएर प्रचारप्रचारमा जाने तयारी छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पनि बुधबार चितवनमा पत्रकारसँग कुरा गर्दै सत्ता गठबन्धनको बैठकले चुनावी तालमेल गर्ने निर्णय गर्ने बताएका थिए ।

बिहीबार १७ चैत २०७८ ०८:५९ AM मा प्रकाशित

प्रतिक्रिया