×

ऐतिहासिक पुर्कोट गढीको संरक्षण

images


पर्वत, १३ भदौ ः जिल्लाका करिब दुई दर्जन ऐतिहासिक कोतका विकास भइरहेका बेला लामो समयदेखि ओझेलमा परेको फलेवास नगरपालिका–३ शङ्कर पोखरीस्थित पुर्कोटगढी भने नेपाली सेनाले पुनः निर्माण गरेको छ । समुद्री सतहबाट करिब एक हजार नौ सय मिटरको उचाइमा रहेको सो ठाउँ जिल्लाका अन्य कोटभन्दा धेरै ठूलो छ  ।

 मल्लकालको शासन तथा नेपालको एकीकरण पूर्वका करिब साढे तीन सय वर्षसम्म यहाँ पर्वते राजाले शासन गरेका थिए । कुश्मास्थित नेपाली सेनाको नयाँ रणभिम गुल्मका अनुसार पुर्कोट क्षेत्रभित्र रहेका प्राचीन सभ्यता झल्किने अवशेष संरक्षणका लागि विभिन्न काम गरिएको छ । नेपाली सेनाको नागरिक–सैनिक सहकार्य कार्यक्रमअन्तर्गत रु आठ लाखको लागतमा पुर्कोट कोत पुनःनिर्माण गरिएको हो । नेपाली सेना पश्चिम पृतना हेडक्वाटरको पहल र नयाँ रणभिम गुल्मको योगदानमा एकै महिनामा काम सम्पन्न गरी ती भौतिक संरचना स्थानीयवासीलाई हस्तान्तरणसमेत गरिएको छ । यहाँ बडादसैँ र चैते दसैँगरी वर्षमा दुई पटक नवदुर्गाको पूजा हुने भए पनि भौतिक संरचनाको अभावमा समस्या हुँदै आएको थियो । सेनाको टोलीले एक महिनाको अवधिमा कोट क्षेत्रभित्र सामुदायिक भवनसहितका भौतिक संरचना तयार पारेको थियो । 

पुनः निर्माण पूरा भएपछि पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी दीपककुमार बानियाँसहितको टोलीले अवलोकनपछि उक्त कोट वडाध्यक्ष अर्जुनबहादुर कार्कीलाई हस्तान्तरण गरेको थियो । सो अवसरमा उपरथी बानियाँले नेपाली सेना नागरिकसँग सहकार्य र समन्वय गरेर सामाजिक क्षेत्रमा काम गर्न तयार रहेको बताउनुभयो । उहाँले यस्तो ऐतिहासिक महत्वकोे स्थल संरक्षणमा सेनाले काम गर्दै आएको जानकारी गराउनुभयो । 
उपरथी बानियाँले पुर्कोट मात्र नभएर सोही स्थानमा रहेको त्रिभुवन माविमा पुस्तकालय निर्माणका लागि रु १० लाख  सहयोग गरिएको  जानकारी  पनि दिनुभयो । शङ्कर पोखरीका वडाध्यक्ष अर्जुनबहादुर कार्कीले कम लागतमै सेनाले आकर्षक तरिकाले भौतिक संरचना तयार पारिएकोे बताउँदै उक्त क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने लक्ष्य नगरपालिकाले लिएको बताउनुभयो । कोटमा निर्माण भएको सामुदायिक भवनले पूजाआजा गर्न वा अवलोकनको लागि जानेहरूलाई पनि सहज हुने उहाँको भनाइ थियो। 

यो कोटमा वडादसैँमा नौ दिनसम्म नै पुजारी बसेर पूजा हुने गरेकामा यसअअघि कुनै पनि संरचना नहुँदा पुजारीले दैनिक घरबाट आउजाउ गर्नुपर्दा समस्या हुँदै आएको थियो । अब दसैँको अवधिभर घरमै बस्न मिल्ने भएको छ । “यहाँका पुराना संरचनाले नै यसको इतिहास बताइरहेको छ”, स्थानीयवासी यज्ञबहादुर खत्रीले भन्नुभयो, “पुराना ओखल, दरबारको भग्नावशेष, इनार निशाना अझै देखिन्छन् ।” भुरेटाकुरे राजाहरूले शासन गर्ने समयमा धान कुट्न बनाइएका ओखल, पानी पिउन बनाइएको इनार अहिले पनि छन् । तीबाहेक राज्यभर उर्दी  जारी गर्न राखिएको घण्ट पनि सुरक्षित छ । 

अब यस गढीको प्रचारप्रसार र प्रवद्र्धनमा लाग्ने वडाध्यक्ष कार्कीले बताउनुभयो । सदरमुकाम कुश्माबाट करिब डेढ घण्टाको पैदलमा पुग्न सकिने पुर्कोट भौगोलिक दृष्टिकोणले समेत रमणीय छ । यहाँबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, नीलगिरिलगायत दर्जनभन्दा बढी हिमाल नियाल्न सकिन्छ । त्यससँगै छिमेकी जिल्ला बागलुङ, स्याङ्जा र कास्कीका धेरै स्थानको वलोकन गर्न सकिने भएकाले पर्यटकीय विकासका लागि पनि राम्रो सम्भावना रहेको स्थानीय अगुवा धनबहादुर थापाले बताउनुभयो । 
हाल करिब २० रोपनीमा खुम्चिएको पुर्कोटको क्षेत्रफल बढाएर ५० रोपनी पु¥याउने, भ्यू–टावर निर्माण, जीर्ण संरचनाको संरक्षण तथा मर्मत, खेलमैदान, बगैँचा निर्माणसहितका योजना बनाएर यहाँ जिल्लाकै पर्यटकीय आकर्षणका रूपमा विकास गर्ने योजना नगरपालिकाले बनाएको पूर्वनगरप्रमुख पदमपाणि शर्माले बताउनुभयो । 

बुधबार १३ भदौ २०८० ०२:४९ PM मा प्रकाशित

प्रतिक्रिया