१६ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको समग्र स्थिति बिग्रिएका कारण खेलकुद क्षेत्रले मात्र एक्लै देशलाई अगाडि बढाउन नसक्ने टिप्पणी गरेका छन्। नेपाल खेलकुद विकास महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुकको वर्तमान राजनीतिक तथा सामाजिक अवस्थाप्रति तीव्र असन्तुष्टि व्यक्त गरे।
"देशै बर्बाद भएको छ भने खेलमात्रै कसरी अगाडि जान्छ? नेपालको हालत त्यही भएको त हो," ओलीले कार्यक्रममा भने, "भूकम्प र कोभिडले ध्वस्त पारेको अर्थतन्त्रलाई हामीले उकास्ने प्रयास गरेका थियौं, तर त्यो कुरा कसैलाई सह्य भएन।"
आफ्नो सम्बोधनका क्रममा एमाले अध्यक्ष ओलीले पछिल्ला समय भएका आन्दोलन र राजनीतिक घटनाक्रमप्रति लक्षित गर्दै असन्तुष्टि पोखे। उनले 'जेनजी' (Gen Z) आन्दोलनलाई हिंसाको रूपमा टिप्पणी गर्दै देशमा तोडफोड, हत्या र हिंसा मच्चाउने कार्य भइरहेको र त्यसलाई वैधानिकता दिने प्रयास भइरहेको आरोप लगाए।
"हाम्रो लागि देशभन्दा ठूलो केही छैन। देशभन्दा माथि केही हुन सक्दैन," राष्ट्रियतामाथि जोड दिँदै उनले भने, "हामी बिस्तारै यस्तो प्रणालीबाट अघि बढ्नेछौं, जहाँ सबै नेपालीले न्याय पाउनेछन् र देशलाई माया गर्नेछन्।"
अध्यक्ष ओलीले खेलकुद क्षेत्रको विकासका लागि खेलाडीहरूको शारीरिक विकास र उचित पोषणमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। सरकारले खेल क्षेत्रको जग बलियो बनाउनुको साटो संस्थागत हस्तक्षेप गरिरहेको उनको आरोप थियो।
"खेल विकासका लागि सिंगै नेपालीको हाइट (उचाइ) बढाउनुपर्नेछ। खेलाडीहरू खान नपाएर कमजोर हुने स्थिति आउनु हुँदैन," ओलीले भने, "यतापट्टि सरकारले ध्यान दिनुपर्ने हो, तर यहाँ त सरकार आफैं हस्तक्षेप गरेर एन्फा (अखिल नेपाल फुटबल संघ) लाई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध गर्नेतिर लागेको छ।"
उनले खेलकुदको विकास टुप्पोमा मात्र परिवर्तन खोजेर नहुने र यसका लागि जरादेखि नै सुधार आवश्यक रहेको उल्लेख गरे। साथै, एन्फालाई सम्भावित प्रतिबन्धबाट मुक्त गराई नेपाली खेलाडीको नाम विश्वभर चम्काउने वातावरण बनाउन उनले खेलकुद विकास महासंघलाई आग्रह समेत गरे।
प्रतिक्रिया