×

बजेट भाषण हुँदा पनि छुटेनन् नयाँ सवारी

images

वीरगन्ज । बजेट भाषणको पूर्व सन्ध्यामा भन्सार यार्डसम्म आइपुगेका धेरै नयाँ सवारी छुट्ने र भन्सारको राजस्वसमेत बढ्ने अपेक्षा यसपटक पूरा हुन सकेन । मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज आईसीपी यार्डमा थुप्रिएका धेरै नयाँ सवारी भन्सार जाँच पास भई छुट्न नसक्दा भन्सारको त्यो अपेक्षा पूरा हुन नसकेको हो ।

सोमबार बजेट भाषण भए पनि आइतबारसम्म पनि अपेक्षाकृत रूपमा नयाँ सवारी नछुटेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख प्रशासक डिलाराम पन्थीले जनाएका हुन् । देशको आर्थिक अवस्था ओरालोतर्फ लागिरहेको समयमा नयाँ सवारीसाधन भन्सार जाँचपास हुन नसक्दा त्यसको चाप थेग्न वीरगन्ज भन्सार कार्यालय मातहत आईसीपी यार्डलाई हम्मेहम्मे परेको खुलेको छ ।

छिमेकी तथा तेस्रो मुलुकबाट आयात गरिएका मालवस्तु लिएर आउने मालवाहक सवारीसहित आइतबार मात्र वीरगन्ज भन्सार यार्डमा नयाँ सवारीसाधनको संख्या २ हजार ३ सय पुगिसकेको पाइएको छ । अहिले यो यार्डले ती सवारी संख्याको भार थेगिरहेको छ ।

मालवाहक र नयाँ सवारीसाधनको चापले वीरगन्ज भन्सार कार्यालय मातहतको संयुक्त भन्सार जाँच चौकी (आईसीपी) यार्ड अहिले खचाखच भरिएको आईसीपीको व्यवस्थापन हेरिरहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । उच्च तथा मध्यम घरानाले अत्यधिक प्रयोग गर्ने निजी प्रयोजनका सवारीसाधन आयात भए पनि भन्सारबाट छुट्न भने नसकेको वीरगन्जको आईसीपीमा खटेका कर्मचारीले पनि बताए ।

मुलुकमा आर्थिक मन्दीसँगै जाँचपास भई भन्सारबाट छुट्न नसकेका नयाँ सवारीसाधन वीरगन्ज भन्सारको आईसीपी यार्डभित्र खुला आकाशमुनि मधेसको घामपानीका रमिते जस्ता भएका छन् । यो भन्सारको आईसीपी यार्ड नै हाउसफुल हुनेगरी भरिएका नयाँ सवारीसाधन १ हजार ७ सय रहेको आईसीपीको व्यवस्थापन हेरिरहेको टीआरएस हिमालयन लोजिपार्ड प्रालिले तथ्यांक उपलब्ध गराएको छ ।

आईसीपी र नजिकै रहेको सुख्खा बन्दरगाहको पनि व्यवस्थापन हेरिरहेको नेपाल सरकार मातहतको इन्टरमोडल यातायात विकास समितिले पनि नयाँ सवारी चाप खासै नघटेको जनाएको छ । पछिल्ला पाँच महिनाको तुलनामा अहिले पनि उस्तै तथ्यांक रहेको आजको राजधानी दैनिकमा खवर छ ।

मङ्गलबार १६ जेठ २०८० ०७:०९ AM मा प्रकाशित

प्रतिक्रिया