×

इन्स्पेक्टर चापागाईंले कुटे हवल्दार

images

काठमाडौं । मादक पदार्थ सेवन गरेको भन्दै एक प्रहरी निरीक्षकले हवल्दारलाई कुटपिट गरेका छन् । जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी निरीक्षक नविन चापागाईंले प्रहरी हवल्दार हरि आरसीमाथि कुटपिट गरेका हुन् ।

शनिवार भएको सो घटनामा ३७ वर्षीय हवल्दारको बायाँ आँखा, नाक र मुखमा गहिरो चोट लागेको छ । जिल्ला कारागार डोल्पामा कार्यरत हवल्दार आरसीलाई प्रनि चापागाईले प्रहरी कार्यालयमै बोलाएर कुटपिट गरेको पीडित हवल्दारले बताएका छन् ।

हवल्दार आरसीको जिल्ला अस्पताल डोल्पामा सामान्य उपचार गरिएको छ। थप उपचारका लागि आइतबार उनी बाँकेको नेपालगञ्ज जाने तयारीमा छन् । प्रहरी नायव उपरीक्षक शिवबहादुर बुढाथोकीले पनि थप उपचारका लागि नेपालगञ्ज जान आग्रह गरेको उनले बताए ।

शनिबार हवल्दार आरसी बिदामा थिए। उनले बिदाको दिन आफूले साथीहरूसँग मिलेर मादक पदार्थ सेवन गरेको पनि बताए। ‘म साथीहरूसँग बसिरहेका बेला इन्स्पेक्टरसाबले बोलाउनुभएको छ भने असईले भन्नुभयो। म प्रहरी कार्यालय गएँ। एकाएक इन्स्पेक्टरसाबले कुट्नुभयो।

मैले माफी मागे पनि उहाँले कुट्नुभयो,’ उनले भने। बिदाको दिनमा मापसे गरेको र हो-हल्लासमेत नगरेको उनको भनाइ छ। ‘यदि मैले गल्ती नै गरेको थिएँ भने पनि मलाई सांगठानिक कारबाही गरिनुपर्थ्यो,’ उनले भने। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक बुढाथोकीले भने आफू कार्यालयभन्दा बाहिर रहेको बेला घटना घटेकोले यसबारे अनुसन्धान भइरहेको बताए।

आइतबार​ १७ बैशाख २०८० १२:०४ PM मा प्रकाशित

प्रतिक्रिया