×

प्रचण्ड सरकारको तेस्रो मन्त्रिपरिषद् विस्तार हुँदै

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री नियुक्त भएयता आज तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दै छन् ।

१० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डको नेतृत्वमा ११ पुसमा पहिलोपटक मन्त्रिपरिषद् गठन भएको थियो । त्यसबेला नेकपा एमालेसँग नेकपा माओवादी केन्द्रको सत्ता सहकार्य थियो ।

११ पुसमा प्रचण्ड नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद् गठन हुँदा एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्री, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधानसहित गृहमन्त्रीका रूपमा सरकारमा गएका थिए ।

त्यसपछि ३ पुसमा दोस्रोपटक मन्त्रिपरिषद् विस्तार हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी भएका थिए भने एमाले, राप्रपा, रास्वपाबाट सरकारमा मन्त्रीहरू थप गरिएको थियो ।

बललिँदो राजनीतिक अवस्थाका बीचमा गृहमन्त्रीका रूपमा उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी भएका लामिछाने सरकारबाट बाहिरिँदा १४ माघमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यविभाजन हेरफेर गर्दै प्रधानमन्त्रीलाई नै गृहमन्त्रालयको जिम्मेवारी दिएकी थिइन् ।

त्यसपछि २३ माघमा रास्वपाबाट सरकारमा सहभागी भएका मन्त्रीले समेत राजीनामा दिएका थिए भने रास्वपाका मन्त्रीको राजीनामा आएपछि तत्कालीन राष्ट्रपति भण्डारीले रिक्त मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री प्रचण्डलाई नै दिएकी थिइन् ।

त्यसअघि १४ र १६ फागुनमा राप्रपा र नेकपा एमालेका मन्त्रीहरूले प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा बुझाएपछि तत्कालीन राष्ट्रपति भण्डारीले रिक्त मन्त्रालयको कार्यभारसमेत प्रधानमन्त्रीलाई नै दिएकी थिइन् ।

गत १३ फागुनमा एमाले र माओवादी केन्द्रको सत्ता सहकार्य टुंगिएपछि नयाँ सत्ता गठबन्धन बनेको थियो । हालको सत्ता गठबन्धनमा १० दल सहभागी छन् । आज मन्त्रिपरिषद् विस्तार हुँदा यससहित तेस्रोपटक हुनेछ भने मन्त्रीको जिम्मेवारी हेरफेर र कार्यविभाजन चौथोपटक हुनेछ ।

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूले मन्त्रालय भागबन्डा टुंगाएपछि सरकारमा नौ दल सहभागी हुने लगभग निश्चित भएको छ ।

बुधबार साँझ बालुवाटारमा बसेको सत्ता गठबन्धन आबद्ध शीर्ष तहको बैठकमा नौ दल सरकारमा सहभागी हुनेगरी मन्त्रालयको संख्या टुंगाइएको हो । तर, कुन दलले कुन मन्त्रालय पाउने भन्ने भने अझै टुंगिन बाँकी छ । मन्त्रालयको नामसमेत टुंगिएपछि आज राजनीतिक दलले मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाउनेछन् । राजधानी दैनिकबाट

 

 

बिहीबार १६ चैत २०७९ ०७:४४ AM मा प्रकाशित

प्रतिक्रिया