×

 डा. स्वर्णिम वाग्ले द्वारा कांग्रेस परित्याग , भन्छन देउवा-आरजु गिरोहको अपमान सहेर बस्न सकिनँ

images

काठमाडौं । अर्थशास्त्री  डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरेका छन्। उनले इतर समूहका नेता डा. शेखर कोइरालालाई सन्देश पठाएर पार्टी परित्यागको घोषणा गरेका हुन्। वाग्लेले कांग्रेस परित्यागको घोषणा गरेको कोइरालाको सचिवालयले पुष्टि गरेको छ।

‘पार्टीमा रहन्न भनेर सन्देश पठाउनभएको छ,’ नेता कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भने, ‘पार्टी परित्यागको घोषणा गर्नुभएको छ।’

वाग्ले वैशाख १० मा तनहुँ १ मा हुने उपनिर्वाचनमा उठ्नका लागि राष्ट्रिय स्वन्त्र पार्टीसँग अहिले छलफलमा छन्। पार्टी छाडेको सन्देश दिन कांग्रेस नेताहरुलाई एक पत्र लेख्दै उनले आफू पार्टीमा रहन नसक्ने अवस्था आएको उल्लेख गरेका छन् । 

‘प्रिय दाइ, हजुरहरूको अपार सद्भावका बाबजुद म काँग्रेसमा रहन नसक्ने अवस्था आएको छ। देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो,’ उनले भनेका छन् ।

उनले यो निर्णय लिनुअघि नेताहरुसँग भेटघाट र छलफल नगरेको स्पष्ट गरेका छन् । ‘हजुरहरूसँग भेटेको भए निश्चय पनि काँग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौँ’, उनले भनेका छन् ।
 
वाग्लेले अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ‘डेलिभरी’ को प्रयोगमा जान चाहेको पनि उल्लेख गरेका छन्। 
 
उनले गगन थापासहितका केही नेताहरु पार्टीको निर्णायक हैसियतमा रहेको दिन जोडिन सक्ने आशा भने कायमै रहेको बताएका छन् । ‘त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु’, वाग्लेको भनाइ छ । कांग्रेस छोडेर वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्न लागेको अनुमान छ । उनी तनहुँ १ बाट उपचुनावमा उठ्ने पनि चर्चा छ । 

बिहीबार १६ चैत २०७९ ०४:२० PM मा प्रकाशित

प्रतिक्रिया