काठमाडौं । नेपाली कांग्रेसले चितवन– २ उपनिर्वाचनमा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी चितवनका पूर्वजिल्ला सभापतिसमेत हुन् ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णयलगत्तै सञ्चारकर्मीहरुलाई संक्ष्प्ति प्रतिक्रिया दिँदै उम्मेदवार श्रेष्ठले आगामी निर्वाचनमा जितेर नेपाली कांग्रेसको एक सिट थप्नेमा विश्वस्त रहेको बताए ।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पान समितिले मलाई विश्वास गरेर उम्मेदवार बनाउने निर्णय गरेको छ । म व्यक्ति उम्मेदवार होइन, कांग्रेसको उम्मेदवार हो । देशभरीका साथीहरुले सुभेक्षा प्रकट गरिराख्नु भएको छ ।
उहाँहरुको अपेक्षा बमोजिम वैशाख १० को उपनिर्वाचनमा चितवन–२ बाट विजयी भएर नेपाली कांग्रेसको एक सिट थप्नेमा आशावादी छु । म चितवनको धर्तिपुत्रको रुपमा आफूलाई लिन्छु । मैले २७ वर्षदेखि मैले राजनीति गरेको ठाउँ हो । जीतनारायण श्रेष्ठ हाम्रो दुःख, सुखको साथी हो भन्ने आम मतदातामा विश्वास छ,’– उनले भने ।
चितवन–२, बारा–२ र तनहुँ–१ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ । यसअघिका प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
प्रतिक्रिया