×

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरू

images

 काठमाडौं ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको छ। बिहीबार बिहान सत्ता गठबन्धनको बैठक बसेको हो। सरकार विस्तार, नीति कार्यक्रम तथा प्राथमिकताका बारेमा छलफल गर्न सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत सहभागी छन् । मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँट गर्न शीर्ष नेताहरुको बैठक बसेको हो । बैठकमा संघीय सरकारको मन्त्रिपरिषद् विस्तारका साथै प्रदेश सरकार गठनको विषयले पनि प्रवेश पाउनेछ ।

प्रमुख सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष र प्रधानमन्त्री प्रचण्डबीच बुधबार साढे दुई घण्टा एकल वार्ता भएको थियो । बुधबारको वार्तामा उनीहरुबीच भागबन्डाको न्यूनतम सहमति भएको स्रोतको दाबी छ । बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश प्रमुखहरू, मुख्यमन्त्रीहरू, मन्त्रालयहरू कुन दलले के लिने र कति लिने भन्नेबारे छलफल गरेर भागबन्डा गर्ने तयारी छ।

प्रदेशमा एमाले, माओवादी, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीमा दाबी गरिरहेका छन्।

राष्ट्रपति र सभामुख नेकपा एमालेले लिने मौखिक सहमति भएको बताइएको छ। तर अन्य पद कुन दलले लिने भन्नेबारे छलफल भएका छैनन्।

साथै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तारको तयारी गरेको उनीनिकट एक नेताले दाबी गरेका छन्। प्रचण्ड ७ दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए। प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक अहिलेको सत्ता गठबन्धनको बैठक बालुवाटारमा बसेको हो।

बिहीबार १४ पुस २०७९ १०:४१ AM मा प्रकाशित

प्रतिक्रिया