काठमाडौं । अदालतको अवहेलना गरेको अभियोगमा सर्वोच्च अदालतले सीधा कुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई तीन महिना कैदको सजाय सुनाएको छ ।
आइतबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको बृहत पूर्ण इजलासले उनीहरुलाई ३/३ महिनाको कैद सजाय सुनाएको हो ।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलका अनुसार आइतबार बसेको पूर्ण इजलासले राजकुमार तिमल्सिनालाई ६ महिना कैद, प्रकाशक युवराज कँडेललाई र सम्पादक नवीन ढुंगानालाई तीन-तीन महिना कैद सजाय सुनाएको हो।
सिधा कुरा डटकले सत्यतथ्यको परीक्षण नगरि भ्रमपूर्ण सामाग्री पटकपटक प्रशारण गरेकोले त्यसलाई हेलचक्र्याईंमात्र भन्न नमिल्ने सर्वोच्चको ठहर छ। त्यसैले प्रकाशक कँडेल र सम्पादक ढुंगानाले अदालत र न्यायाधीशप्रति अफवाह फैलाएर न्याय सम्पादनमा अवरोध पुर्याएको भन्दै सर्वोच्चले तीन महिना कैद सुनाएको हो।
त्यस्तै सिधाकुरा डट कमलाई ५ हजार जरिवाना सुनाएको कुइकेलले जानकारी दिए।
उनीहरूले इजलासमा गरेको बयानको क्रममा आफूहरूले अदालतको अवहेलना गर्न खोजेको होइन भनेर क्षमायाचना गरेको फैसलामा उल्लेख छ। तर त्यो क्षमायाचना निशर्त नभएको पनि सर्वोच्चले बताएको छ।
अदालतको अवहेलनाजन्य कार्य गरेको भनेर निशर्त क्षमायाचना र आउँदा दिनमा यस्तो कार्य नगर्ने लिखित प्रतिवद्धता गरेमा उनीहरूलाई ७ दिनसम्ममात्र कैद सजाय गर्न सर्वोच्च अदालतले भनेको छ। उनीहरूले क्षमायाचना नगरेमा भने पुरै तीनमहिना कैद सजाय गर्नुपर्ने अदालको फैसलमा उल्लेख छ।
तिमिल्सिनाले यो मुद्दाको कारबाही प्रकृयाकाबेला पश्चातापबोध र क्षमायाचना नगरेकाले उनलाई ६ महिना कैद नै गर्न सर्वोच्चको आदेश छ। क्षमायचना गरेमा अदालतले सजाय माफि पनि गर्न सक्ने कानुनी व्यवस्था छ।
प्रतिक्रिया