×

सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेको छः प्रधानमन्त्री

images


काठमाडौँ, १२ भदौः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर सरकारले आफ्ना गतिविधिलाई अगाडि बढाइरहेको बताउनुभएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफमा प्रधानमन्त्रीले सार्वजनिक सेवामा जनताको सहज पहुँच विस्तार गर्ने, विकास निर्माण प्रक्रियालाई गति दिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

    दिगो समावेशी आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यका साथ सरकारले आफ्ना गतिविधि अगाडि बढाएको र सोही दिशामा क्रियाशील रहेको स्पष्ट पार्नुभयो । सरकारको सुधारका कदमबाट अर्थतन्त्र सकारात्मक दिशातर्फ केन्द्रित रहेको उहाँको कथन छ ।

    उहाँले सरकारले अर्थतन्त्रको सकारात्मक सुधारका लागि सरकारले आवश्यक पहलकदमी लिएको र त्यसको सकारात्मक प्रभाव देखा परेको जानकारी दिनुभयो । केन्द्रीय बैंकले सोमबार मात्रै चालु पूँजी कर्जा मार्गदर्शनमा संशोधन गरी उद्योग व्यवसाय क्षेत्रका सकारात्मक प्रभाव पार्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    प्रधानमन्त्रीले निकट भविष्यमा हुन लागेको चीन भ्रमणका क्रममा दुई देशका बीचका सहकार्यलाई थप विस्तार गर्ने, आर्थिक सम्बन्धलाई थप सहज बनाउने र नयाँ नाका खोल्ने लगायतका विषयमा महत्वपूर्ण छलफल हुने र निष्कर्षमा पुर्‍याउने बताउनुभयो । प्रधानमन्त्रीले सुदूरपश्चिम प्रदेशको राजधानीको विस्तार र विकासका लागि सरोकारवालासँग थप छलफल गरेर निर्णय हुने उल्लेख गर्नुभयो ।

    राष्ट्रिय गौरवका आयोजनालाई थप गति दिन सरकारले आफ्ना संयन्त्रलाई पूर्णरुपमा परिचालित गरेको जानकारी दिँदै उहाँले ती आयोजना यथाशीघ्र सम्पन्न गर्न जोड दिएको बताउनुभयो । प्रतिनिधिसभाको बैठक जारी छ ।

मङ्गलबार १२ भदौ २०८० १२:२४ PM मा प्रकाशित

प्रतिक्रिया