×

प्रचण्ड-ओलीबीच भेट्घाट बाक्लियो, माधव नेपाललाई सरकारमा ल्याउने तयारी

images

 काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलले बिहीबार बस्ने सत्ता साझेदार दलको बैठकका लागि एजेण्डा तय गरेका छन्। खुमलटारस्थित प्रधानमन्त्री प्रचण्डको निजी निवासमा भएको छलफलमा बिहीबारको बैठकका लागि एजेण्डा तय भएको प्रधानमन्त्री प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्लले बताए।

साथै माधव नेपाललाई सरकारमा ल्याउने प्रधानमन्त्रीले पहल थालेपछि सकारात्मक रूपमा प्रक्रिया अघि बढेको उनले बताए। साढे २ घण्टा भेटवार्तापछि खुमलटारबाट प्रचण्ड बाहिरिएका छन्। नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट बाहिर ल्याएर प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि ओलीको दौडधुप बढेको छ । 

प्रचण्डसँग समसामयिक विषयमा छलफल भएको अध्यक्ष ओलीले बताए। दुई नेताबीच आगामी सहयात्रा र सत्ता गठबन्धनमा हुने भागबण्डाको विषयमा छलफल गरेको बुझिएको छ।

यसअघि संसद् विघटन गर्नु अघिल्लो दिन २०७७ पुस ४ गते साँझ ओली खुमलटार पुगेका थिए । प्रतिनिधिसभा विघटनपछि ओली र प्रचण्डबीच दूरी बढेको थियो।  तत्कालीन नेकपा विभाजनपछि दुई नेताबीच पानी बाराबारको अवस्था रहेकामा मंसिर ४ को निर्वाचनबाट नाटकीय रुपमा सत्ता सहकार्यको स्थिति आएसँगै दुई नेताबीच निकटता बढेको हो । 

तत्कालीन सत्ता गठबन्धनमा प्रधानमन्त्री र राष्ट्रपति पदको भागबण्डाका विषयमा सहमति नबनेपछि एकाएक प्रचण्डले गठबन्धन तोडेर एमालेसँग सहकार्य गरेका थिए । एमालेसहित ७ पार्टीका १७० सांसदको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले ओलीलाई बुधबार आफ्नै निवास खुमलटारमा स्वागत गरेका छन्  ।

बुधबार बिहान प्रचण्डले निवासमा स्वागत गर्दै ओलीसँग छतमा आतिथ्यता प्रदान गरेका हुन् । दुई नेताले घाम तापेर गठबन्धनको आगामी रणनीतिका विषयमा छलफल गरेका छन् । प्रचण्डसँगको भेटपछि ओलीले सरकार विस्तारबारे छलफल भएको प्रतिक्रिया दिए । भेटवार्ताका क्रममा दुई नेताबीच केन्द्र सरकारका साथै प्रदेश सरकार कसरी बनाउने भन्ने विषयमा छलफल भएको ओलीको भनाई छ । नयाँ समीकरणपछि सातै प्रदेशमा सात दलीय गठबन्धनको सरकार बन्ने देखिएको छ । 

बुधबार १३ पुस २०७९ ०२:१९ PM मा प्रकाशित

प्रतिक्रिया