×

देशभर अविरल वर्षाः काठमाडौं जोड्ने सबै नाका बन्द, विद्युत् सप्लाई गर्ने मुख्य प्रसारण लाइन अवरुद्ध

images

काठमाडौँ । शुक्रबार बिहानदेखि अविरल रूपमा परेको वर्षाका कारण शनिबार मध्यान्हसम्म विभिन्न राजमार्गका ६८ स्थानमा पहिरो खसेर सडक अवरुद्ध बनेका छन् । काठमाडौं जोड्ने अधिकांश सडक ठप्प छन् ।काठमाडौं उपत्यकालाई अन्य जिल्लासँग जोड्ने सबै नाका बन्द भएको छ ।

पृथ्वी राजमार्गका विभिन्न स्थानमा गएको पहिरोले शनिबार बिहानैदेखि यो सडक खण्ड बन्द रहेको छ । काठमाडौं–मुग्लिन–नारायणगढसम्म शनिबार रातभर सवारी चलाउन रोक लगाइएको छ ।


पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने विपी राजमार्ग समेत अवरुद्ध बनेको छ । उता, हेटौंडा–काठमाडौं जोड्ने सबै सडक बन्द भएका छन् । पहिरोका कारण हेटौंडा काठमाडौं जोड्ने लामो तथा छोटा दूरीका सबै मार्ग बन्द भएका हुन् ।

बिहीबारदेखिको अविरल वर्षाका कारण हेटौंडाबाट काठमाडौं जाने कान्ति लोकपथ, राजधानी मार्ग (भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली काठमाडौं), कुलेखानी फाखेल काठमाडौं, कुलेखानी मातातीर्थ काठमाडौं र त्रिभुवन राजपथ पहिरोले अवरुद्ध भएका छन् । साथै  काठमाडौँलाई‌ विद्युत् सप्लाई गर्ने मुख्य प्रसारण लाइन अवरुद्ध भएको छ । तामाकोशी नदीले खिम्ती–लामासाँघु प्रसारण लाइनको ७ नं टावर बगाएको हो।  

यो १३२ केभीको प्रसारण लाइन हो । यसबाट विद्युत् आपूर्ति‌ बन्द भएपछि काठमाडौं उपत्यका प्रभावित बनेको छ। यो लाइन नबन्दासम्म काठमाडौँलाई बिजुली अपुग हुनेछ। यसले गर्दा विभिन्न स्थानमा पालो गरेर आपूर्ति गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

त्यस्तै ढल्केबर-पथलैया प्रसारण लाइन पनि अवरुद्ध भएको छ। यसले गर्दा ढल्केबर पश्चिममा बिजुली आपूर्ति प्रभावित भएको छ।

शनिबार १२ असोज २०८१ ०४:५८ PM मा प्रकाशित

प्रतिक्रिया