×

उपत्यकाका तीन जिल्लामै १,९२४ वटा घर डुबान, काठमाडौंमा अहिलेसम्मकै रेकर्ड ब्रेक वर्षा

images

 काठमाडौं ।  मौसम पूर्वानुमान महाशाखाले राजधानी काठमाण्डूमा अभिलेख राख्न सुरु भएयता अहिलेसम्मकै धेरै वर्षा मापन भएको जनाएको छ। जल तथा मौसम विज्ञान विभागसँग सन् १९७० देखि वर्षाको अभिलेख रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले पछिल्लो २४ घण्टामा काठमाण्डू उपत्यकामा अहिलेसम्मकै धेरै वर्षा मापन भएको जानकारी दिए। उनका अनुसार शुक्रवार बिहान ८-४५ देखि शनिवार बिहान ८-४५ बजेसम्म राजधानी उपत्यकामा २३९।७ मिलिमिटर वर्षा मापन भएको छ। महाशाखाका अनुसार यसअघि सन् २००२ मा काठमाण्डूमा मापन भएको १७७ मिलिमिटर वर्षा नै अहिलेसम्मको उच्च थियो।

त्यसको २२ वर्षपछि शुक्रवार र शनिवार काठमाण्डूमा त्यसभन्दा धेरै वर्षा भएको लामिछानेले जानकारी दिए। “काठमाण्डू उपत्यकामा हामीसँग अभिलेखमा भएको सन् २००२ को १७७ मिलिमिटर भन्दा पनि धेरै २३९।७ मिलिमिटर वर्षा मापन भएको छ,” लामिछानेले भने। “देशका अरू कतिपय ठाउँमा पनि व्यापक वर्षा भएको अभिलेख देखिन्छ।”

जल तथा मौसम विज्ञान विभागले वर्षाको अभिलेख विश्लेषण भइरहेका कारण आइतवार मात्रै देशभरि कुन-कुन स्थानमा अहिलेसम्मकै धेरै वर्षा भयो भन्ने विवरण सार्वजनिक हुने बताएको छ। विभागकी सूचना अधिकारी विभूति पोखरेलले आइतवार मौसमको अभिलेखबारे विस्तृत विवरण विश्लेषण हुने जानकारी दिइन्। महाशाखाका अनुसार काठमाण्डू उपत्यका आसपासका कैयौँ वर्षा मापन केन्द्रहरूमा पनि अभिलेख राख्न सुरु भएयता अहिलेसम्मकै धेरै वर्षा मापन भएको छ।

राजधानी उपत्यकाका तीन जिल्लामै १,९२४ वटा घर डुबान

नेपाल प्रहरीका अनुसार राजधानी उपत्यकाका तीन जिल्लामै १,९२४ वटा घर डुबानमा परेका छन्। काठमाण्डू, ललितपुर र भक्तपुरमा मात्रै ३४ जनाको मृत्यु हुनुका साथै १७ जना घाइते भएको प्रहरीले जनाएको छ। गृह मन्त्रालयले घाइते हुनेमा उद्धारमा खटिएका सुरक्षाकर्मीहरू पनि रहेको जनाएको छ। सबैभन्दा धेरै ललितपुरमा १८ जना, काठमाण्डूमा ११ जना र भक्तपुरमा ५ जनाको मृत्यु भएको प्रहरी मुख्यालयले जनाएको छ।

उपत्यकाका तीन जिल्लामा १३१५ जनाको उद्धार गरिएको सुरक्षा निकायले जनाएका छन्। शनिवार ३:३० सम्मको विवरणअनुसार काठमाण्डूमा १,३२४ वटा, ललितपुरमा ५०० वटा र भक्तपुरमा १०० वटा गरी जम्मा १,९२४ वटा घर डुबानमा परेका छन्। निजी घर, कार्यालय, सपिङ मल र प्रहरी कार्यालयहरू पनि डुबानमा परेका दृश्य सामाजिक सञ्जालमा देखिएका छन्। (समाचार, तस्बिरः बीबीसी नेपाली)

शनिबार १२ असोज २०८१ ०८:१५ PM मा प्रकाशित

प्रतिक्रिया