×

पाम तेल र भटमास तेल निर्यात घटेसँगै समग्र निर्यातमा गिरावट

images

काठमाडौं । यो वर्ष पाम तेल र भटमास तेल निर्यातमा गिरावट आएसँगै मुलुकको समग्र निर्यात व्यापारमा उल्लेख्य कमी आएको छ । विगतका वर्षमा पाम तेलको निर्यातले समग्र निर्यातमा उल्लेख्य वृद्धि आएकामा चालु आवको सुरुदेखि नै पाम तेलको निर्यात घट्दा समग्र निर्यातमा कमी आएको छ ।

भारत सरकारले पाम तेल आयातमा लाग्दै आएको ५० प्रतिशत भन्सार शुल्क घटाएसँगै नेपालबाट हुने निर्यातमा कमी आएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महिना ९साउन–जेठ० सम्ममा पाम तेलको निर्यातमा ५० प्रतिशतले ह्रास आई १९ अर्ब ५४ करोड रुपैयाँमा झरेको छ ।

गत वर्ष सो अवधिमा ३९ अर्ब ११ करोड २७ लाख १४ हजार रुपैयाँको पाम तेल निर्यात भएको थियो । गत वर्ष समग्र निर्यातमा पाम तेलको निर्यात ४५ प्रतिशतको हाराहारी रहेकामा चालु आवको सुरुदेखि नै निर्यातमा गिरावट आउँदै आएको हो । विभागका अनुसार ११ महिनाको अवधिमा भटमासको तेलको निर्यातमा ८१.८ प्रतिशत ह्रास आई आठ अर्ब ४८ करोड रुपियाँमा झरेको छ । गत वर्ष सो अवधिमा ४६ अर्ब ५८ करोड ७० लाख ४८ हजार रुपैयाँको भटमासको तेल निर्यात भएको थियो ।

गत आवमा दुई खर्बको कुल वस्तु निर्यात हुँदा पाम तेल र भटमासको तेलको हिस्सा मात्रै करिब ९० अर्ब रुपैयाँ रहेको थियो । त्यति बेला यो कुल निर्यातको ४५ प्रतिशत हो । व्यापारविज्ञ रविशङ्कर सैँजूले भारतले पाम तेल र भटमासको तेल आयातमा भन्सार शुल्क घटाएसँगै निर्यात ह्वात्तै घटेको बताए ।

स्वदेशी उत्पादन नभई कच्चा पदार्थ आयात गरी पुनः प्रशोधन गरेर निर्यात हुने वस्तुको निर्यात गत आवमा बढेको थियो, भारतले भन्सार महसुल घटाउँदा पाम तेल र भटमासको तेल निर्यात घटेको समग्र निर्यातमा गिरावट आएको उनको भनाइ छ । स्वदेशमै उत्पादन हुने तुलनात्मक वस्तुको उत्पादन बढाएर निर्यात गर्न सकियो भने निर्यात व्यापार दिगो हुने उनको भनाइ छ । गोरखापत्र दैनिकबाट

बुधबार १३ असार २०८० ०८:०२ AM मा प्रकाशित

प्रतिक्रिया