×

सरकारलाई दिएको समर्थन आजै फिर्ता हुनसक्छ- सभापति रवि लामिछाने

images

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन आजै फिर्ता लिनसक्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा सांसद पदको सपथ लिएलगतै पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले सरकारमा जाने कुरामा सोचाई नभएको र त्यस किसिमको वातावरण नबनेको बताएका हुन् ।

उनले सरकारलाई दिएको समर्थनको विषयमा के गर्ने सोच्नुपर्ने विषय भएको बताउँदै पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकमा यसबारे छलफल गरेर निर्णय लिने जानकारी दिए ।  पाँच महिनामै दोस्रो पटक संसद यात्रामा निस्किएका उनले आफूहरुलाई हराउन गठबन्धन सरकारले सरकारी हेलिकोप्टरदेखि अनेक स्रोत साधन दुरुपयोग गरेको आरोप पनि लगाए।

यिनै आरोपबीच अब सरकारमा जानेभन्दा समर्थन नै फिर्ताको दिशातर्फ आफूहरु पुगिसकेको पनि निष्कर्ष उनले सुनाए।  रविले अहिलेको सरकारमा नजाने बरु १३ वटा मात्रै मन्त्राल बनाएर रास्वपा एक्लैलाई सरकार चलाउन दिए आफूहरु तयार रहेको पनि सुनाए। यदि देशमा अस्थिरता नहुने भए सरकारबारे छलफल गर्न सकिने उनको कथन थियो। 

उनले आफ्नो दल अस्थिरताको पक्षमा नरहेको पनि स्पष्ट पारे । तर सरकारले आफूले समर्थन पाइरहुँ भन्नका लागि न्यूनतम ठाउँ राख्नुपर्ने र त्यो ठाउँ राखेको छ कि छैन भन्ने कुरा पुनरावलोकनको विषय बनेको उनले बताए । यसबारेमा पार्टीमा र संसदीय दलमा छलफल गरेर मात्र अगाडि बढ्ने उनले बताए । 

उनले प्रधानमन्त्रीसँग कुरा भएको बारेको जिज्ञासामा भने– ‘प्रधानमन्त्रीले बधाई दिनको लागि मात्र फोन गर्नुभएको हो । यस्तो सुनेको थिएँ के हो भनेर चासो सम्म राख्नुभएको थियो । सरकार सम्बन्धी त्यस्तो गम्भीर छलफल भएको हैन, उहाँले मलाई बधाई दिन फोन गर्नुभएको थियो   ।  

'तपाईं माओवादी र कांग्रेसभन्दा एमालेसँग बढी कम्फर्टेबल हो?'पत्रकारको प्रश्नमा उनले भने-  एमालेसँग निकट र कम्फर्टबेल रहेको कुरालाई गलत भाष्य भने। 'एमालेसँग निकट रहेको कुरा गलत हो, गलत भाष्य हो', उनले भने, 'तर हामीआफैँसँग मात्रै कम्फर्टेबल छौँ। हिजो सरकारमा रहँदा एमालेसँग टाँसियो कि भन्ने थियो। तर एमालेभन्दा पहिले हामीले सरकारबाट बाहिरिने निर्णय गरौँ।'

उनले त्यसक्रममा आफ्नो बचाउ गर्दै राष्ट्रपति निर्वाचनमा पनि एमालेले सारेका उम्मेदवारलाई भन्दा सत्ता गठबन्धनका उम्मेदवारलाई भोट हालेको बताए।  'राष्ट्रपति निर्वाचनमा गठबन्धनलाई सघायौँ। उपराष्ट्रपतिको निर्वाचनमा महिला उठाएकाले जनमतलाई सघायौँ', उनले भने, 'एजेन्डाका आधारमा हाम्रो सबैसँग सहकार्य हुन्छ।'

उनले अहिले आफू कुनै मन्त्रालय लिने र सरकारमा जाने पक्षमा नरहेको पनि बताए। 'सरकारमा जाने र मन्त्रालय लिने कुरा अहिले असम्भव छ। यथास्थितिमा सरकार गएर मैले मन्त्रालय लिने कुरा सम्भव छैन', उनले भने, 'मुलुकको स्थिरताका लागि गर्नुपर्ने निर्णय फरक होला।  तर अहिले सरकारमा जाने सम्भावना एकदमै कम छ।' 

शुक्रबार​ १५ बैशाख २०८० ०१:१४ PM मा प्रकाशित

प्रतिक्रिया