काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको शुक्रबार शपथ हुने भएको छ । वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित तीन जना सदस्यहरुको बिहान साढे ११ बजे पद तथा गोपनीयताको शपथ हुन लागेको हो । उपनिर्वाचनबाट नवनिर्वाचित तीनजना प्रतिनिधि सभा सदस्यमध्ये आज रवि लामिछाने र स्वर्णिम वाग्लेले पदको शपथ खाने भएका छन्।
बारा–२ बाट निर्वाचित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने अहिले आफ्नो निर्वाचन क्षेत्रमै रहेकाले उनको चाहिँ आज शपथ नहुने भएको हो। लामिछाने र वाग्ले दुवै राष्ट्रिय स्वतन्त्र (रास्वपा) का तर्फबाट क्रमशः चितवन २ र तनहुँ १ बाट निर्वाचित हुन्।
गत मङ्सिर ४ मा भएको निर्वाचनबाट तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपति उक्त क्षेत्रमा उपनिर्वाचन भएको हो । साथै बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएको र चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादका कारण पदमुक्त भएकाले उपनिर्वाचन गरिएको थियो ।
प्रतिक्रिया