×

गठबन्धन गर्नुपर्छ, ०७४ मै म त बालबाल जितेको हुँ- सभापति देउवा

images

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले चुनावमा गठबन्धन गरेर जानुपर्ने बताएका छन् । सोमबार काँग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कमिटीको बैठकमा बोल्दै देउवाले पार्टीमा कसैलाई अन्याय नहुने भन्दै गठबन्धन गरेर अगाडि बढ्ने बताएका हुन् ।

०७४ मा गठबन्धन नगर्दा धेरै नेताहरू हारेको प्रसंग निकाल्दै आज सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा देउवाले भने, ‘सबै सिट जित्नका लागि गठबन्धन गर्नुपर्छ, ०७४ मै म त बालबाल जितेको हुँ। हाम्रा साथीहरू धेरै हार्नुभएकै हो।’ गठबन्धन नगर्दा कांग्रेसले धेरै ठाउँ गुमाउन सक्ने उनको भनाइ थियो।

उनले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाकै गठबन्धनलाई चुनावसम्म कायमै राख्नुपर्ने पनि बताए।केन्द्रीय कार्य समिति बैठकमा शेखर कोइरालासहितका केही नेताले गठबन्धनको विपक्षमा धारणा राखेपछि सभापति देउवाले गठबन्धन गरेर जाँदा नै सहज हुने बताएका हुन् ।

उनले माओवादीलाई साथ दियो भनेर आफ्नो आलोचना हुने गरेकोमा भने, ‘माओवादीलाई बोक्यो भन्छन् मैले बोकेको हो? गिरिजाबाबुले शान्ति प्रक्रियामा ल्याएको होइन? त्यसबेला केही नभन्ने अहिले मलाई प्रश्न गर्ने?’

विगतमा माओवादीले आफूलाई समेत गोली हानेको प्रसंग निकाल्दै देउवाले पुराना कुरा भुलेर माओवादीसँग गठबन्धन गरेर नै अघि बढ्नुपर्ने बताए ।

उनले माओवादीले कांग्रेस नेता तथा कार्यकर्तालाई पहिले दु:ख दिए पनि पुराना कुरा बिर्सेर अहिले गठबन्धन गर्नुपर्ने बताए। ‘मलाई पनि माओवादीले दु:ख दिएकै हुन्। एम्बुस थापेका थिए,’ उनले भने।

देउवालाई तत्कालीन माओवादीले कैलालीमा एम्बुस थापेका थिए। डोटीबाट फर्कंदै गर्दा उनी चढेको गाडीलाई लक्षित गरेर द्वन्द्वकालमा माओवादीले एम्बुस थापेको थियो।

देउवाले आफूले लिएको सिद्धान्तमा शंका नगर्न पनि आग्रह गरेका थिए। उनले भने, ‘मेरो आइडोलोजीमा शंका नगर्नुहोस्, धेरै लडेको मान्छे हुँ, म अब फेरि पार्टी सभापति हुने होइन, अहिलेको अवस्था त हेर्नु पर्‍यो नि ।’

उनीभन्दा अघि बोलेका शेखर कोइरालाले केका लागि गठबन्धन भन्दै प्रश्न गरेका थिए। कोइरालालाई जवाफ दिने क्रममा आफ्नो पालोभन्दा अघि नै बोलेका देउवाले भने, ‘म धेरै लडेर यहाँ आइपुगेको हुँ। सिद्धान्तमा शंका नगर्नुस्। अब म सभापति बन्ने पनि होइन।’ देउवा १५ औं महाधिवेशनमा सभापति उठ्न पाउँदैनन्, विधानले नै रोकेको छ।

बैठकमा बोल्दै देउवाले पार्टीमा कसैलाई अन्याय नहुने भन्दै गठबन्धन गरेर अगाडि बढ्ने बताएका हुन् ।

‘गठबन्धनमै सवैको भविष्य छ । गठबन्धन गर्दा कसैमाथि अन्याय हुन दिन्न । पार्टीका साथीहरूकै आग्रहमा गठबन्धन गरेको हो ।’ उनले भने, ‘मत गठबन्धन गरेर प्रधानमन्त्री हुने पक्षमा थिएन । रामचन्द्र जी लगायतले जोड गर्नुभयो । अहिले गठबन्धन गर्नुहुँदैन भनेर हुन्छ ?’

सोमबार १४ चैत २०७८ ०८:११ PM मा प्रकाशित

प्रतिक्रिया