×

मगर दिवसमा परम्पराको झल्को

images

गण्डकी, १६ फागुन : कोही सेखु ओढिरहेका थिए, कोही डोको बोकिरहेका । कसैका काँधमा हलो÷जुवा थिए त कसैका हातमा डम्फु र मादल । सोरठी र कौरा भाकामा कम्मर मर्काइमर्काइ नाच्ने युवायुवती हुन् या भाङ्ग्रामा सजिएका बूढापाका ।

मङ्गलबार पोखरा सभागृह परिसरमा यी र यस्तै दृश्यले आगन्तुकलाई तानिरहेको थियो । सन्दर्भ थियो ४२औँ मगर दिवसको । नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति कास्कीको अगुवाइमा मगरहरूले उल्लासपूर्वक दिवस मनाएका हुन् । 

गण्डक क्षेत्र आफैँमा मगर बाहुल्य भूमि हो । मगरहरू आफ्नो पहिचानमा हुरुक्क हुन्छन् । संस्कृति र रहनसहनमा खुलेर रमाउँछन् । बर्सेनि फागुन १५ उनीहरूका लागि रौनक लिएर आइपुग्छ । मगरहरू सङ्गठित भएको यस दिनलाई मगर समुदायले ‘मगर दिवस’का रूपमा मनाउँदै आएको छ । 

यहाँका मगरले यसपालि पनि आफ्नो एकता दिवसलाई धुमधामका साथ मनाए ।  मगरहरूका लागि घरघरमा खुसी साट्ने र मिठोमसिनो खाने अवसर पनि हो, यो दिवस । नेपाल मगर सङ्घ स्थापना भएको दिनलाई मगर दिवसका रूपमा मनाउने थिति बसेको समन्वय समितिका उपाध्यक्ष चन्द्रबहादुर पुर्जामगरले बताउनुभयो । 

पोखरा सभागृहमा मूल समारोह आयोजना हुनुपूर्व पोखराको मुख्य सहरी क्षेत्रमा सांस्कृतिक झाँकी र पदयात्रा प्रदर्शन गरिएको उहाँले बताउनुभयो । कास्कीभित्र रहेको सङ्घका तीन दर्जनबढी एकाइ समितिले पदयात्रामा सहभागिता जनाएका थिए । 

सो अवसरमा जातीय वेशभूषासहित मगर समुदायको संस्कृति, रीतिरिवाज झल्काउने सांस्कृतिक झाँकी, गीत र नाच प्रस्तुत गरिएको थियो । झाँकीमा किशोरकिशोरीदेखि ज्येष्ठ नागरिकसम्मले उत्साहपूर्वक भाग लिएका थिए । समारोहमा सोरठी, कौरालगायत परम्परागत नाच देखाइएको थियो ।

सहभागीले दिवसका नारा उल्लेख गरिएका ‘प्लेकार्ड’ पनि बोकेका थिए । पदयात्रापछि उनीहरूले पोखरा सभागृहमा शुभकामना आदानप्रदान, खानपान र नाचगानसहित खुसीयाली साटेका थिए । उपाध्यक्ष पुर्जामगरले दिवसले देशविदेशमा रहेका मगर समुदायबीच एकताको सन्देश प्रवाह गर्ने बताउनुभयो । 

“यो दिवसले मगर समुदायको हकहितको रक्षा र अधिकार प्राप्तिका लागि थप सङ्गठति हुन प्रेरित गर्दछ”, उहाँले भन्नुभयो, “राज्यको शासन प्रणालीमा मगरहरूको पहिचान स्थापित हुनुपर्छ भन्ने हाम्रो माग रहिआएको छ ।”

दिवसमा सहभागी तिलक पुनले आफ्नो समुदायको हकहितका पक्षमा आवाज उठाउनुका साथै मौलिक संस्कृतिको जगेर्नामा पनि दिवसले मद्दत पुर्याएको बताउनुभयो । उहाँले सुरुमा स्थापना दिवसका मनाउन सुरु गरिएको दिवसले अहिले सांस्कृतिक पर्वको जस्तै स्वरुप लिन थालेको उहाँको भनाइ छ ।   

समाजमा रहेका विभिन्न धर्म सम्प्रदाय, जातजाति र भाषाभाषीबीचको एकता र भातृत्वलाई सुदृढ गर्नुपर्नेमा दिवसमा सहभागीले जोड दिएका थिए । समारोहका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले मगर समुदायको मौलिक कला, संस्कृति पुस्तान्तरण हुनुपर्नेमा जोड दिनुभयो । 

उहाँले इतिहास, कला, संस्कृतिको जगेर्ना गर्न नसके कुनै पनि समाज अगाडि बढ्न नसक्ने बताउनुभयो । “ठूल्ठूला पूर्वाधार बनाउनु, बाटाघाटा निर्माण गर्नुमात्र विकास होइन, समुदायको संस्कृति र परम्परालाई पनि संरक्षण गर्नु हाम्रो दायित्व हो”, उहाँले भन्नुभयो, “मगर भाषा र संस्कृतिको संरक्षणका लागि महानगर आवश्यक सहयोग गर्न तयार छ, प्रस्ताव लिएर आउनुहोला ।”

पोखरालाई छिट्टै पर्यटकीय राजधानी घोषणा गर्न लागिएको भन्दै उहाँले पर्यटकीय आकर्षणका लागि कला र संस्कृतिको जगेर्ना अपरिहार्य रहेको बताउनुभयो । विसं २०३९ फागुन १५ गते तनहुँको दमौलीका हेमबहादुर पुनमगरको अध्यक्षतामा नेपाल लाङ्घाली परिवार सङ्घको पहिलो राष्ट्रिय महाधिवेशन भएको थियो । महाधिवेशन भएको दिनलाई नेपाल मगर सङ्घले स्थापना दिवसका रूपमा मनाउँदै आएको छ । 

सोही स्थापना दिवसलाई पछि मगर एकता दिवसका रूपमा मनाउन थालिएको सङ्घले जनाएको छ । कास्की, बागलङ, म्याग्दी, तनहुँसहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा सांस्कृतिक कार्यक्रम, खेलकुद प्रतियोगितालगायत आयोजना गरी दिवस मनाइएको छ । दिवसका अवसरमा गण्डकी प्रदेशका विभिन्न स्थानीय तहले सार्वजनिक बिदासमेत दिएका थिए ।

बुधबार १६ फागुन २०८० ०७:४० AM मा प्रकाशित

प्रतिक्रिया