×

सेयर बजारमा सामान्य गिरावट

images

काठमाडौं । मंगलबार सेयर बजारमा सामान्य गिरावट आएको छ । यस दिन ३.८१ अंकले घटेको बजार २०१९.७३ बिन्दुमा आएर रोकिएको हो । बजार दिनभर जसो नै उतारचढावपूर्ण भने रह्यो । मंगलबार २६२ धितोपत्रको २८ हजार ६८४ वटा कारोबारबाट ३९ लाख ४६ हजार २४ कित्ता सेयर किनबेच भएको छ ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.०८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३७ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ८९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २६२ स्टकको २८ हजार ६८४ पटकको कारोबारमा १ अर्ब ३८ करोड ७८ लाख ६५ हजार रुपैयाँ बराबरको ३९ लाख ४६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से र कारोबार रकम दुबै घटेपनि यस दिन तीन स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन आँधिखोला लघुवित्त वित्तीय संस्था, आदर्श लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन १० प्रतिशत बढेको हो। यस दिन सिद्धार्थ इन्स्योरेन्सको मूल्य भने ६.४१ प्रतिशत बढेको छ। यस दिन धेरै स्टकहरुको शेयरमूल्य घटेपनि गिरावट दर भने ४ प्रतिशतभन्दा कम रहेको छ। यस दिन प्रिमियर इन्स्योरेन्स, राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन, सामलिङ्ग पावर र तारागाउँ रिजेन्सी होटल्सको शेयरमूलय साढे ३ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन युनिभर्सल पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७ करोड ५५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्स र सानिमा माइ हाइड्रोपावरको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

यस दिन १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक घटेको छ भने ४ उपसमूहको परिसूचक बढेको छ। यस दिन लगानी, जलविद्युत, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक बढेको हो। जसमध्ये लगानी उपसमूहको परिसूचक सर्वाधिक १.०३ प्रतिशत बढेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक करिब १ प्रतिशत घटेको छ।


 

मङ्गलबार १६ फागुन २०७९ ०३:२७ PM मा प्रकाशित

प्रतिक्रिया