काठमाडौँ । बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार उच्च अंक घटेर बन्द भएको नेप्से, यस दिन भने सामान्य अंक बढेर बन्द भएको हो।
यस दिन नेप्से परिसूचक ५.३८ अंक बढेर २७३१.८९ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०२ अंक बढेको छ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। मंगलबार १४ अर्ब १६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३४ स्टकको १ लाख २१ हजार ९९२ पटकको कारोबारमा ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार रुपैयाँबराबरको २ करोड ३६ लाख १८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८३ करोड ५७ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको कारोबार रकम ५४ करोड रुपैयाँ नाघेको छ भने एसवाई प्यानल नेपालको करिब ५० करोड रुपैयाँको शेयर कारोबार भएको छ।
प्रतिक्रिया