काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व मेटाएर एकता सम्भव नहुने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र मन्त्री घिसिङबीच एकता वा सहकार्यको चर्चा चलिरहेका बेला उनको यो भनाइ आएको हो ।
शनिवार काठमाडौंको बौद्धमा उज्यालो नेपाल पार्टी नुवाकोट-काठमाडौं सम्पर्क मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्दै घिसिङले भने,’एकताको अर्थ अरूलाई समाप्त गर्नु होइन । सबैको अस्तित्व स्वीकार गर्दै, सबैलाई सम्मान हुने गरी अघि बढ्नु नै साँचो एकता हो ।’
उनले देशमा राजनीतिक परिवर्तन अपरिहार्य भइसकेको बताउँदै नयाँ शक्तिहरूले अहङ्कार त्यागेर सबैको अस्तित्व र सम्मानलाई स्वीकार गर्दै साझा उद्देश्यका लागि एकजुट हुनुपर्ने जोड दिए । जनताको भावना पनि नयाँ शक्तिहरू एकताबद्ध होऊन् भन्ने रहेको उनको भनाइ थियो ।
घिसिङले उज्यालो नेपाल पार्टीको पहिचान जनजीवनसँग जोडिएको उल्लेख गर्दै भने,’घरमा बत्ती बाल्ने बित्तिकै ‘उज्यालो’ को अनुभूति हुन्छ, त्यही उज्यालोबाट उज्यालो नेपाल चिनिनुपर्छ ।’
उनले पार्टीप्रति जनताको विश्वास बढ्दै गएको बताउँदै यो विश्वासलाई थप बलियो बनाएर निर्धक्क भएर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई देशको भविष्य बदल्ने महत्त्वपूर्ण अवसर ठानेर घिसिङले सही, इमानदार र जनउत्तरदायी नेतृत्व चयन गर्न सबै नागरिक सचेत रहन आग्रह गरे ।
उज्यालो नेपाल पार्टीले देशभर आफ्ना सङ्गठनात्मक संरचना विस्तार गर्दै लगेको उल्लेख गर्दै मन्त्री घिसिङले सानो झिल्कोबाट सुरु भएको अभियान आज राष्ट्रिय अभियानका रूपमा विस्तार हुँदै गएको बताए ।
प्रतिक्रिया