×

प्रिन्सिपल स्वर्णकारको हत्याका मुख्य आरोपी सुटर सुजित सिंह पक्राउ, नियन्त्रणमा लिन प्रहरीले ठोक्यो गोडामा दुई गोली

images

बारा । दुई महिना पछि नेपाल प्रहरीले कलैयाका प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्यामा मुख्य अभियुक्त भनिएका सुजित कुमार सिंहलाई  पक्राउ गरेको छ । सिंहलाई बारा प्रहरीले मङ्गलवार साँझ पक्राउ गरेको हो ।

भारतीय सीमासँग जोडिएको छतवा मुसहर्वा नाकाबाट उनलाई नियन्त्रणमा लिएको बाराका एसपी सुरेश प्रसाद काफ्लेले पुष्टि गरे । उनको गोडामा दुई गोली लागेको छ। उनको साथबाट प्रहरीले सानो पेस्तोल र गोली बरामद भएको एसपी काफ्लेले जानकारी दिए।

विश्रामपुर गाउँपालिका वडा नं. ३ मा देखिएका सिंहलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि खुट्टामा गोली प्रहार गर्नुपरेको प्रहरी उपरीक्षक काफ्लेले जनाएका छन् । सिंहको हाल कलैया स्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

उनी कन्ट्र्याक्ट किलर रहेको र बारा, पर्सा, रौतहट लगायतका जिल्लाहरूमा भएका विभिन्न आपराधिक घटनाहरूमा उनको संलग्नता रहेको यसअघिका विभिन्न घटनाको अनुसन्धानको क्रममै भेटिएको एसपी काफ्लेले बताए। गत कार्तिक १३ गते प्रिन्सिपल स्वर्णाकारको गोली हानेर हत्या भएको थियो ।

घटनाको तीन दिन पश्चात प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो । सिंह भने फरार थिए । प्रिन्सिपल स्वर्णकारको हत्या आरोपमा बाराको कलैयाका २ की राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंह थुनामा छन् । 

बुधबार ११ पुस २०८० १०:३६ AM मा प्रकाशित

प्रतिक्रिया