×

चीनद्वारा ‘स्थिर’ अमेरिकी सम्बन्धको आह्वान

images

चीनका विदेशमन्त्री वाङ यीले बिहीबार महिनौँको अशान्तिपछि अमेरिकासँग अधिक स्थिर सम्बन्धको अपेक्षा गरेको बताएका छन् । 

चिनियाँ राष्ट्रपति सि जिनपिङको सम्भावित अमेरिका भ्रमणको तयारीका लागि वासिङ्टनको दुर्लभ भ्रमणका क्रममा विदेशमन्त्री वाङले सो कुरा बताएका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले एसिया–प्रशान्त आर्थिक सहयोग (एपीईसी) शिखर सम्मेलनमा भाग लिन आफ्ना चिनियाँ समकक्षी सिलाई सान फ्रान्सिस्कोमा आमन्त्रण गरेका छन् ।

चिनियाँ विदेशमन्त्री वाङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग भेटवार्ताक गरेर भ्रमणको शुरूवात गरेका छन् । 
भेटमा विदेशमन्त्री ब्लिङ्केनले आफ्ना पाहुनासँग आफू ‘रचनात्मक कुराकानी’ का लागि उत्सुक रहेको बताए ।

जुन महिनामा बेइजिङको भ्रमणमा आउनुभएका ब्लिङ्केनलाई वाङले चीन ‘असमझदारी कम गर्न’ चाहेको बताएका थिए । 
“चीन सामान्य आधारको विस्तार गर्न चाहन्छ र सहयोगलाई अगाडि बढाउन चाहन्छ जसले दुवै मुलुकलाई लाभ हुनेछ । हामी अमेरिका–चीन सम्बन्धलाई स्थिर बनाउन सकौँ र त्यसलाई स्वस्थ, स्थिर र दिगो विकासको मार्गमा फर्काउन सकौँ”, उनले भने ।

मतभेद अझै आउने कुरा स्वीकार गर्दै वाङले भने, “चीनले शान्तिपूर्वक जवाफ दिनेछ किनकी के सही हो र के गलत हो भन्ने कुरा कसको हात बलियो र आवाज उच्च छ भन्ने कुराले निर्धारण गर्दैन भन्ने हाम्रो भनाइ हो ।”

शुक्रबार वाङले ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानसँग कुराकानी गर्नेछन् । 

राष्ट्रपति बाइडेनसँग कुनै बैठकको घोषणा गरिएको छैन तर बेइजिङमा राष्ट्रपति सिले ब्लिङ्केनलाई भेट दिएपछि बाइडेनसँग वाङको भेटवार्ता हुने व्यापक अपेक्षा गरिएको छ ।  

शुक्रबार​ १० कात्तिक २०८० ०३:५८ PM मा प्रकाशित

प्रतिक्रिया