×

इजराइलको ‘स्थल सेना’ ले गर्यो गाजामा रात्रिकालीन आक्रमण

images

स्थल आक्रमणको तयारी गरिरहेको बेला लडाकू विमान र ड्रोनहरूको सहयोगले स्थल सेनाले पछिल्ला दिनमा गाजामा ‘लक्षित आक्रमण’ गरेको इजराइली सेनाले शुक्रबार बताएको छ । 

    “पछिल्लो दिनमा आईडीएफ लडाकू विमान र यूएभीको साथमा स्थल सेनाले मध्य गाजापट्टीमा थप लक्षित आक्रमण गरेको छ”, सेनाले एक विज्ञप्तिमा भनेको छ, “आईडीएफले एन्टी–ट्याङ्क मिसाइल प्रक्षेपण स्थलहरू, सैन्य कमान्ड र नियन्त्रण केन्द्रहरूका साथै हमासका आतङ्कवादीलगायत कयौँ आतङ्कवादी लक्ष्यहरू पहिचान गरी प्रहार गरेको छ, कारवाहीको अन्त्यमा सेना उक्त क्षेत्रबाट बाहिर निस्केको छ ।”

    सेनाले जारी गरेको श्यामश्वेत फुटेजमा बख्तरबन्द सवारीको एउटा समूह देखिन्छ जसमा आक्रमणपछि आकाशमा धुलोको बाक्लो बादल उडेको थियो । सेनाले अघिल्लो रात पनि प्यालेस्टिनी क्षेत्रको उत्तरी भागमा ट्याङ्क र स्थल सेनामार्फत यस्तै प्रकारको स्थल अभियान सञ्चालन गरेको थियो । 

    इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले यसै साताको सुरुमा इजराइलले ‘स्थल आक्रमणको तयारी गरिरहेको’ दोहोर्याएपछि पछिल्लो आक्रमण भएको हो । 

    इजराइली अधिकारीहरूका अनुसार अक्टोबर ७ मा हमास बन्दुकधारीहरूको भीडले इजराइलमा घुसपैठ गरी एकहजार चार सय मानिसलाई मारेको थियो । मारिनेहरूमा अधिकांश सर्वसाधारण थिए । त्यस्तै हमासले दुई सय २४ भन्दा बढीलाई बन्धक बनाएको छ । 

    इजराइलको जवाफी हवाई तथा तोप आक्रमणमा गाजापट्टीमा दुई हजार नौ सय १३ बालबालिकासहित कम्तीमा सात हजार २८ मानिस मारिएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्कमा उल्लेख छ । 

    सन् २००५ मा प्यालेस्टिनी क्षेत्रबाट एकतर्फीरूपमा इजराइल फिर्ता भएपछि गाजामा मारिनेको सङ्ख्या यो सबैभन्दा बढी हो । 

शुक्रबार​ १० कात्तिक २०८० ०२:३५ PM मा प्रकाशित

प्रतिक्रिया