×

प्रधानमन्त्री ‘प्रचण्ड’द्वारा ल्हासास्थित पोटाला दरबार र जोखाङ मन्दिर अवलोकन

images

ल्हासा (चीन) , १० असोज : चीनको औपचारिक भ्रमणको क्रममा चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यहाँस्थित ऐतिहासिक पोताला दरबार र जोखाङ मन्दिरको अवलोकन भ्रमण गर्नुभयो । 

समुन्द्री सतहबाट करिब तीन हजार आठ सय मिटरको उचाइमा रहेको पोताला दरबारलाई संयुक्त राष्ट्रसङ्घीय सैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन(युनेस्को)ले सन् १९९४ मा विश्व सांस्कृतिक सम्पदाको सूचीमा सूचिकृत गरेको थियो । 

पोताला दरबार एतिहासिक एवं तिब्बतकै सबैभन्दा ठूलो र पुरानो दरबार हो । साथै यो दरबार विश्वमै समुन्द्री सतहबाट सबैभन्दा माथि निर्माण भएको दरबार पनि हो । पोताला दरबारको भ्रमण गर्दा प्रधानमन्त्री प्रचण्डलाई त्यहाँका अधिकारीहरूले दरबारका बारेमा जानकारी गराएका थिए । 

त्यसैगरी प्रधानमन्त्री प्रचण्डले पोताला दरबारको नजिकै रहेको जोखाङ मन्दिरको पनि अवलोकन भ्रमण गर्नुभयो । जोखाङ मन्दिरलाई पनि युनेस्कोले सन १९९४ मा विश्व सांस्कृतिक सम्पदाको सूचीमा सूचिकृत गरेको छ ।  

यो मन्दिर सोङचङ गम्पोले राजकुमारी वेनचेङ र नेपाली राजकुमारी भृकुटीका लागि सातौं शताब्दीको मध्य समयतिर बनाएका थिए । यो मन्दिर बौद्ध धर्मावलम्बीहरूका लागि पवित्र स्थलका रुपमा रहेको छ । यस मन्दिरमा राखिएको शाक्यमुनि बुद्धको मूर्तीलाई भक्तजनले विशेष महत्त्वका साथ सम्मान गर्छन् । मन्दिरको भ्रमणका गर्दा प्रधानमन्त्री प्रचण्डलाई त्याहाँका अधिकारीहरूले मन्दिरका बारेमा जानकारी गराएका थिए । प्रधानमन्त्रीले गर्नुभएको दुवै ठाउँको भ्रमणका क्रममा चीन भ्रमण दलमा संलग्न भ्रमण दलका सदस्यहरू पनि सहभागी रहेको थियो ।

बुधबार १० असोज २०८० ०८:५७ PM मा प्रकाशित

प्रतिक्रिया