×

व्यापारीले बेच्छन् साल्ट ट्रेडिङको नुन

images

बझाङ : बुधबार बिहानै खप्तडछान्ना गाउँपालिकाका राजेश कार्की हातमा एक पाकेट नुन बोकेर हिँड्दै गरेको भेटिनुभयो । उहाँको हातमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सहुलियतमा वितरण गरेको भानु नुन थियो । बजारमा कार्कीलाई चिनजानका सर्वसाधारणले बिहानै नुन कता पाइयो भनेर प्रश्नसमेत गरिरहेका थिए । कार्कीको जवाफ थियो, “पसल खुला हुनुपर्छ, जता पनि पाइन्छ ।” 

कार्की सदरमुकाम चैनपुर बस्न थालेको पाँच वर्ष भइसक्यो । एअरपोर्टमा बस्दाबाहेक बीच बजारमा सरेपछि उहाँले हरेक पटक नुन विभिन्न पसलहरूबाट किन्दै आउनुभएको छ । पसलबाट किनिएको नुन भने कताबाट आएको हो भन्ने उहाँलाई जानकारी छैन । “नुन सकिएपछि जुन पसल खुला हुन्छ, त्यो पसलमा जान्छु । नुन मागेपछि पाइहाल्छु”, उहाँ भन्नुहुन्छ ।

सुर्माकी रमा बोहरालाई पनि चैनपुरमा नुन किन्न कहिल्यै समस्या परेन । बजारमा जानेबित्तिकै नुन पाइरहेको उहाँले सुनाउनुभयो । “म आएको डेढ वर्ष हुन लागिसक्यो”, उहाँले भन्नुभयो, “सबै मान्छे नुनै पाइँदैन भन्छन् । मलाई भने अहिलेसम्म कहिल्यै समस्या परेन । पैसा भए सुनसमेत पाउने ठाउँमा नुन पाइँदैन भन्नु अचम्मको कुरा हो ।”

बजारमा आफूले चाहेमा जति पनि नुन किन्न सक्ने उहाँले बताउनुभयो । “मैले गत साता मात्रै एउटा पसलबाट १५ पाकेट नुन किनेर गाउँ पठाएकी थिएँ ।” गाउँमा पशुलाई समेत पाकेटकै नुन खुवाउने गरेको उहाँले सुनाउनुभयो ।

राजेश र रमा जस्तै पसलेका ग्राहक हुनुहुन्छ दुर्गाथली गाउँपालिका जुजीका हेमराज जोशी । जोशीलाई पनि बझाङमा नुन सङ्कट भएको भन्ने अचम्म लाग्छ । “हिजो मात्रै मैले मन्दिर नजिकैको पसलबाट एक पाकेट नुन ल्याएको हुँ । कसरी सङ्कट भयो ?” धेरै किन्नु नपर्ने तर, कहिलेकाहीँ एक÷दुई पाकेट जता पनि पाइने हुँदा समस्या नपरेको उहाँले बताउनुभयो । जोशीले भन्नुभयो, “पैसा भए सुन त सजिलै पाउँछ भने नुन किन नपाउनु !”

बझाङमा नुन विक्रीका लागि आधिकारिक विक्रेता भनेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड हो । साल्ट ट्रेडिङको डिपोबाहेक कसैले पनि नुन बेच्न पाउँदैन । तर, राजेश, रमा, हेमराज जस्तै सयौँ ग्राहक भने साल्ट ट्रेडिङको नुन बेच्ने पसलेबाटै कारोबार गरिरहेका छन् । साल्ट ट्रेडिङ कर्पोरेशनको डिपोबाट प्रति पाकेट नौ रुपैयाँमा किनेर व्यापारीले १५ देखि २० रुपैयाँमा बेच्दै आएका छन् ।

व्यापारीले साल्ट ट्रेडिङकै नुन बिक्री गरिरहेको जानकारी पाएपछि राससको टिम ग्राहक बनेर जाँदा एक पसलले १५ रुपैयाँमा एक पाकेट ‘भानु” नुन थमाउनुभयो । साल्ट ट्रेडिङको नुन किन बेचेको भन्ने प्रश्नमा भने उहाँ नाजवाफ हुनुभयो । उहाँले आत्तिँदै भन्नुभयो, “ग्राहक नुनका लागि आउनुहुन्छ । उहाँहरूलाई समस्या नहोस् भनेर आफूलाई खानका लागि ल्याएको केही पाकेट नुन पसलमा राखेको हुँ ।” उहाँले आफूले मात्रै नभई बजारमा धेरैले बिक्री गर्ने गरेको बताउनुभयो ।

चैनपुरका केही पसलहरूमा निर्धक्कसँग साल्ट ट्रेडिङको नुन बिक्री भइरहेको छ । डिपोबाट कट्टाका हिसाबले नुन ल्याउने र महँगोमा व्यापारीले विक्री गर्ने गरेको खप्तडछान्ना–६ का महेश थापा बताउनुहुन्छ । “व्यापारीले बर्खा नलाग्दै क्विन्टलका हिसाबले डिपोबाट नुन उठाए । अहिले डिपोमा नुन घट्यो, किन्नेको चाप बढ्यो । यता व्यापारीहरू लुकिछुपी बेच्न थाले ।” यसरी अवैधानिकरूपमा किनबेच गर्नेलाई सरोकारवालाले अनुगमन गरेर कारबाही गर्नुपर्ने उहाँले बताउनुभयो ।

डिपोमा पाँच केजी पाउन घण्टौँ लाइन

मष्टा गाउँपालिका–१ की सरूदेवी विक आइतबार नुन किन्न डिपोको लाइनमा हुनुहुन्थ्यो । बिहानैदेखि लाइनमा बस्नुभएकी विकले तीन घण्टापछि पाँच पाकेट मात्रै नुन पाउनुभयो । “सहुलियतको नुन लिन बिहानै देउरानी, जेठानी चैनपुर आयौँ”, उहाँले भन्नुभयो, “यता पाँच केजी नुन मात्रै पाइयो । अब यो कतिसम्म चल्छ होला र !” पाँच पाकेट नुनकै लागि धेरै खर्च गर्नुपरेको उहाँले बताउनुभयो ।

गाउँमा वर्षायामका बेला नुनको सङ्कट नहोस् भनेर डिपोमा आएको मष्टाकै सुमी विकले बताउनुभयो । “एक दुई पोका नुन त थियो । तर, नुनको सङ्कट भएको भनेर सुन्यौँ । बर्खामा चैनपुर आइरहन सकिँदैन । त्यसैले मौसम पनि ठीकै, आइतबार पानी परेको हुँदा नुन लिन आएकी हुँ । यता एक ज्यानको पाँच पोका मात्रै पाइँदो रहेछ”, सुमीले भन्नुभयो ।

नुन वितरणमा दुरूपयोग हुने गरेको गुनासो आएपछि गत महिनायता चैनपुर डिपोले आइतबार मात्रै बिक्री वितरण गर्दै आएको छ । डिपोले जनसङ्ख्याको तुलना गरेर औसतमा एक परिवारलाई पाँच केजी नुन वितरण गर्दै आएको हो । “नुन लिन आउने सबैलाई पु¥याउनका लागि एक जनालाई पाँच केजी दिएका हौँ”, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड डिपो कार्यालय प्रमुख नरबहादुर भाटले भन्नुभयो, “ग्राहकले मागेअनुसारको नुन दिएमा अरूलाई नपुग्ने देखियो । त्यसैले प्रत्येकलाई पाँच केजी दिने निर्णय गरेका हौँ ।” अब यो सङ्कट यसै साताबाट टर्ने उहाँले बताउनुभयो । भाटका अनुसार नुन थपका लागि माग गरिएको र नयाँ लटको नुन पनि आउने बेला भएको हुँदा दोस्रो साताबाटै नुन वितरण सहज हुने उहाँले बताउनुभयो ।

चैनपुर डिपोमा सरकारले गएको आर्थिक वर्षमा तीन हजार पाँच सय क्विन्टल नुन उपलब्ध गराएको थियो । यसपटक थलारा र बुंगलसहितका डिपो थपिएपछि चालु आर्थिक वर्षका लागि जिल्लाभर १४ हजार दुई सय क्विन्टल नुनका लागि सिफारिस गरेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो । “चैतको अन्तिमतिरै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड प्रदेश कार्यालय धनगढीमा आयोडिनयुक्त नुनको माग गरिसकेका छौँ”, उहाँले भन्नुभयो ।

प्रजिअ पाण्डेयका अनुसार चालु आवका लागि चैनपुर डिपोमा सात हजार, बागथला पाँच हजार, तलकोट एक हजार पाँच सय र साइपाल बिक्री केन्द्रका लागि सात सय क्विन्टल आवश्यक पर्ने प्रारम्भिक अनुमानअनुसार माग गरिएको हो । “अहिले पनि नुनको सङ्कट भने होइन”, उहाँले भन्नुभयो, “आवश्यकताअनुसार नुन वितरण भइरहेकै छ । सङ्कट भएको हल्ला मात्रै हो ।” केही कम हुन सक्छ कि भनेर प्रतिव्यक्ति पाँच पाकेट वितरण गरिरहेको उहाँले बताउनुभयो । “अब नयाँ सिजन पनि सुरू भइसक्यो । सायद अर्को साता नै प्रतिव्यक्ति १० पाकेट वितरण गर्ने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो ।

बजारमा नुन बिक्री भइरहेको विषयमा भने अब लगत्तै बजार अनुगमन गरिने उहाँले बताउनुभयो । “यो गुनासो सुनिरहेका छौँ”, उहाँले भन्नुभयो, “बजारमा कसैले नुन बेचेको खबर हामीलाई गरे तत्काल कारबाही हुन्थ्यो । धेरैलाई खबर गर्न आग्रह पनि गरेका छौँ । आधिकारिक जानकारी कसैले दिएको छैन । अब कसैलाई ग्राहक बनाएर पठाउने र गडबड भए कडा कारबाही गरिनेछ”, उहाँले भन्नुभयो ।

बिहीबार ११ साउन २०८० ११:४९ AM मा प्रकाशित

प्रतिक्रिया