×

उपभोक्ता समितिमार्फत छ वटा नदीमा तटबन्धको काम सुरु

images

गोदावरी(कैलाली), १५ वैशाख ः जिल्लाका विभिन्न भाग भएर बग्ने छ वटा नदीमा तटबन्ध निर्माण सुरु गरिएको छ । मानवबस्ती तथा खेतीयोग्य जमिन रोकथाम तथा नियन्त्रण गर्न यहाँका छ नदीमा तटबन्धको काम सुरु भएको हो ।

    सङ्घीय सरकारले चालु आर्थिक वर्षमा नदी कटान नियन्त्रण तथा रोकथाम गर्न रु एक करोड ७५ लाख बजेट विनियोजन गरेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ । 

    बर्दगोरिया गाउँपालिका–१ स्थित कान्द्रा नदीमा रु ४० लाख, बर्दगोरिया–१ कुइरा नदी दमौलीमा रु ३० लाख, मोहन्याल गाउँपालिका–३ ताम्चा तटबन्धमा रु २५ लाख, गौरीगङ्गा नगरपालिका–९ कटैनी नदीमा रु २५ लाख, गोदावरी नगरपालिका–४ खैराना नदीमा रु ३० लाख र टीकापुर–८ स्थित सत्ती पुलदेखि दक्षिण कर्णाली नदीमा रु २५ लाख बजेट विनियोजन गरिएको डिभिजन प्रमुख अमरबहादुर पालले बताउनुभयो ।

    उहाँले मानवबस्ती तथा खेतीयोग्य जमिन रोकथाम तथा नियन्त्रणका लागि सशर्त अनुदानबाट अख्तियारी प्राप्त बजेट कार्यान्वयनका लागि उपभोक्ता समितिमार्फत छ नदीमा तटबन्धको काम सुरु गरिएको जानकारी दिनुभयो । 

    चालु आर्थिक वर्षमा ती नदी नियन्त्रणका लागि विनियोजित बजेटअनुसार नदीहरुमा संवेदनशीलता हेरी आवश्यकताअनुसार उपभोक्ता समितिमार्फत नदी नियन्त्रण तथा रोकथाम गरिने डिभिजन प्रमुख पालको भनाइ छ । 

    प्रदेश सरकारले चालु आर्थिक वर्षमा कैलालीका विभिन्न भाग भएर बग्ने कटैनी, गौरीगङ्गा, शिवगङ्गा, घुराहा, कान्द्रा, काँडा र ठूलीगाडमा नदी कटान नियन्त्रण तथा रोकथाम गर्न रु १७ करोड छ लाख बजेट विनियोजन गरेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ । 

    ती सबै नदीमा तटबन्ध निर्माणका लागि ठेक्का सम्झौता भई धमाधम काम भइरहेको डिभिजन प्रमुख पालले बताउनुभयो । कैलालीमा चुरे पहाड भएर दक्षिणी भेगमा बग्ने अधिकांश नदी तथा खोलाले बर्सेनि मानवबस्ती तथा खेतीयोग्य जमिन कटान गर्दै आएको छ । नदी कटानले दक्षिणी क्षेत्रमा रहेको खेतीयोग्य जमिन बगरमा परिणत हुँदै आएको स्थानीयको भनाइ छ । 

    नदी कटान रोकथाम नियन्त्रणका लागि तटबन्ध निर्माणले मानवबस्ती तथा खेतीयोग्य जमिन बचावटमा राहत मिल्ने अपेक्षा गरिएको गौरीगङ्गाका स्थानीय भरत थापाले बताउनुभयो । पछिल्लो समय कैलालीमा नदी कटान तथा रोकथाम नियन्त्रणका लागि जनताको तटबन्ध, राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति, भू–तथा जलाधार कार्यालय, सिँचाइ तथा जलस्रोत विकास डिभिजन कार्यालय लगायतले तटबन्ध निर्माणको काम गर्दै आएका जनाइएको छ ।

शनिबार १५ बैशाख २०८१ ११:४१ AM मा प्रकाशित

प्रतिक्रिया