×

बालुवाटारमा प्रचण्ड-देउवा-नेपाल वार्ता- गठबन्धनको बैठक बसेर भागबन्डा टुंग्याउने सहमति

images

काठमाडौँ । मन्त्रिपरिषद् विस्तारबारे भागबण्डामा सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ ।  प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको हो।

समसामयिक राजनीतिक घटनाक्रम, मन्त्रिपरिषद बिस्तारलगायत विषयमा उनीहरूबीच आज बिहान छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ।  भोलि (मंगलबार) बेलुकी ४ बजे १० दलको बैठक बसेर मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको  प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। 

सरकार विस्तारको तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन्। मन्त्रिमण्डल विस्तारको अन्तिम गृहकार्यमा रहेका प्रचण्डले सोमबार बिहान देउवा र नेपालसँग छलफल गरेका हुन्। 

प्रधानमन्त्रीको सचिवालयका अनुसार मन्त्रिमण्डल विस्तार, संसदमा पेस भएको सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक लगायतका विषयमा उनीहरूबीच छलफल भएको हो।

गत चैत ६ मा प्रधानमन्त्री दाहालले दोस्रो पटक विश्वासको मत लिएका थिए। विश्वासको मत लिएपछि दुई/चार दिनभित्रै मन्त्रिपरिषद बिस्तार हुने प्रधानमन्त्रीले बताए पनि अहिलेसम्म मन्त्रिपरिषद बिस्तार हुन सकेको छैन।

सोमबार १३ चैत २०७९ ११:३९ AM मा प्रकाशित

प्रतिक्रिया