×

चितवन–२ मा एमालेले रवि लामिछानेसँग देवी ज्ञवालीलाई भिडाउने

images

काठमाडौं । नेकपा (एमाले) ले बैशाख १० गते हुने तीन क्षेत्रको उपनिर्वाचनमा नै आफ्नो उम्मेदवार उठाउने भएको छ । चितवन–२, बारा–२ र तनहुँ–१ मा बैशाख १० गते उपनिर्वाचन हुँदैछ । चितवन–२ सर्वाधिक चासोको रुपमा हेरिएको उपनिर्वाचन हो । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ०७९ मंसिर ४ गतेको निर्वाचनमा निर्वाचित भएका थिए ।

तर, उनी नागरिकतासम्बन्धी विवादमा फस्दा सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएको थियो । लामिछानेले अदालतको फैसलाबमोजिम नागरिकता पूनः लिएका छन् । पुष १० गते एमाले, माओवादीसहित बनेको गठबन्धनमा रास्वपा पनि त्यही गठबन्धनमा सामेल भएको थियो ।

सभापति लामिछाने उपप्रधान एवम् गृहमन्त्री बनेका थिए । अहिले माओवादीले राष्ट्रपतिको निर्वाचनमा गठबन्धन त्यागेर कांग्रेसको नेतृत्वमा नयाँ गठबन्धन बनाएपछि फेरिएको परिस्थितिअनुसार रास्वपा नयाँ गठबन्धनमा सामेल भएको छ ।

एमालेले चितवन–२ को उपनिर्वाचनको तयारी थालेको छ । यसअघि रवि लामिछानेसँग चुनावमा पराजित भएका कृष्णभक्त पोखरेलले पनि पूनः निर्वाचन लड्ने मनशाय बनाएका छन् । तर, अहिले नै को उम्मेद्वार बन्छ ? भनेर भन्न सकिने अवस्था नभएको एमाले नेताहरु बताउँछन् ।

यस्तै, बागमती प्रदेश सभामा पराजित देवी ज्ञवाली र एमाले जिल्ला अध्यक्ष समेत रहेका भरतपुर महानगरको मेयरमा रेनु दाहालसँग पराजित भएका विजय सुवेदीपनि उपनिर्वाचन लड्ने तयारीमा छन् ।

यसअघि मंसिर ४ मा भएको निर्वाचनमा भने रवि लामिछाने ४९३०० मत ल्याएर निर्वाचित भएका थिए । उनले नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई तीन दोब्बर मतान्तरले पराजित गरेका थिए । श्रेष्ठले १४९८८ मत ल्याएका थिए ।

त्यतिवेला एमालेका कृष्णभक्त पोखरेल तेस्रो स्थानमा थिए । पोखरेलले १४६५२मत ल्याएका थिए । चौथो स्थानमा रहेका राप्रपाका रवीन अधिकारीले जम्मा ९५५ मत ल्याएका थिए ।

अहिले एमालेले लामिछानेसँग देवी ज्ञवालीलाई नै भिडाउने तयारी गरेको छ। कांग्रेसले पनि कसलाई उठाउने भन्नेबारे छलफल थालेको छ। जिल्लाका नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवासँग निरन्तर छलफलमा छन् ।

सोमबार १३ चैत २०७९ ०७:५२ PM मा प्रकाशित

प्रतिक्रिया