×

उपराष्ट्रपति यादवद्वारा ‘देउता बनाउने मान्छे’ पुस्तक लोकार्पण

images


काठमाडौँ, ९ असोज : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आज ललितपुरमा आयोजित एक कार्यक्रममा कलाकार कालु कुमाले (कुम्हाः) को जीवनीमा आधारित पुस्तक ‘देउता बनाउने मान्छे’को लोकार्पण गर्नुभएको छ ।

सो अवसरमा उहाँले धातु मूर्तिकलाका कलाकार कुमालेको जीवनमा आधारित पुस्तकबाट उहाँका आरोह, अवरोह, सङ्घर्ष र सफलताका पक्षबारे पाठकले जानकारी पाउने विश्वास व्यक्त गर्नुभयो । इन्स्टिच्युट फर सोसियो कल्चर रिसर्च एण्ड एनासिस संस्थाले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति यादवले भन्नुभयो, “कुनै पनि संस्कृति भनेको संस्कार र बुझाइ हो । मूर्तिकलामार्फत सहरी आभिजात्य संस्कृति होइन लोक संस्कृतिलाई समृद्ध बनाउने कुमालेको सिर्जनात्मक कार्य प्रशंसनीय छ ।”

उहाँले कुमालेले धातु मूर्तिकलामा बेजोड सौगात र अजम्बरी सिर्जना प्रस्तुत गर्नुभएकोमा खुसी व्यक्त गर्नुभयो । साथै उहाँले कुमालेद्वारा सिर्जित मूर्ति मठ, मन्दिर, विहार, गुम्बामा पुजिँदै आएको बताउँदै यो महत्वपूर्ण योगदान र ऐतिहासिक कार्य सिङ्गो मुलुक र कला क्षेत्रका लागि एउटा गौरवको विषय पनि हो भन्नुभयो ।

उपराष्ट्रपति यादवले भन्नुभयो, “कालु कुमालेद्वारा सिर्जित मूर्ति अवलोकन गर्दा त्यसमा उहाँको मौलिक शिल्प प्रशस्तै देख्न सकिन्छ । केही फरक र रैथाने संस्कृति, मूल्य, आदर्श र परम्परालाई स्थापित गर्नुभएको छ । चित्रभाषा बुझ्नेले कलाकार कुमालेले सिर्जना गरेको मूर्तिमा उहाँको हृदय र मस्तिष्क दुवैको सामन्जस्यता सजिलै भेट्टाउन र पाउन सक्दछन् ।” उहाँले मूर्तिकार कुमाले जस्तो श्रष्टा, सिर्जनाकार, कलाकार र व्यक्तित्वलाई सबैले सम्मान गर्दै उहाँका अद्वितीय कलाको संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरले समाज र देशका लागि योगदान गर्ने विशिष्ट व्यक्तिलाई मरणोपरान्तभन्दा पनि जिउँदैमा सम्मान गर्ने नीति अवलम्बन गरी कार्यान्वयन गरेको बताउनुभयो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्ताम्छालीले कुमालेले आफ्नो परम्परागत पेसाको पहिचानलाई कलासँग जोडेर नामसमेत कमाउनुभएको भन्दै प्रशंसा गर्नुभयो ।

लेखक तथा साहित्यकार कुमारी लामाले पुस्तकबारे समीक्षा गर्नुभएको थियो । संस्थाका अध्यक्ष नवराज लामाले कुमालेले कला क्षेत्रमा पुर्‍याउनुभएको योगदानको कदर गर्दै नयाँ पुस्तालाई उहाँको जीवनी एक प्रेरणाको स्रोत हुने भन्ने ठानी उहाँको जीवनी प्रकाशित गरेको बताउनुभयो ।
 
संस्थाका अनुसन्धान प्रमुख कैलाश राईले स्वागत गर्दै संस्थाका बारेमा जानकारी गराउनुभएको थियो । कुमालेका छोरा राकेश अवालेले हाल ९१ वर्र्षीय आफ्ना बुबाले गर्नुभएका काम र हालको दैनकीबारेमा सुनाउनुभएको थियो ।–––

मङ्गलबार ९ असोज २०८० ०६:१० PM मा प्रकाशित

प्रतिक्रिया