×

बाढीले सडक बगाउँदा भोजपुरको पश्चिमी क्षेत्रका स्थानीयको जनजीवन कष्टकर

images


राउते खोलाको बाढीले सडक बगाएपछि भोजपुरको पश्चिमी क्षेत्रका स्थानीयको जनजीवन कष्टकर बनेको छ । गत जेठ ३१ र असार ८ गते आएको बाढीले उक्त खोलासित जोडिएका छवटा सडक बगाएसँगै जनजीवन कष्टर बनेको हो । 

बाढीले धेरै ठाउँमा सडक गहिरो बनाएर कटान गर्दा मर्मत गरेर सञ्चालनमा ल्याउनसमेत समस्या देखिएको टेम्केमैयुङ–९ का वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिनुभयो । बाढीले ठूलो क्षति गरेकाले स्थानीय सरकारको पहँुचभन्दा बाहिर रहेको उहाँको भनाइ छ । “राउते खोलाको बाढीले हाम्रो वडामा करोडौँको क्षति भएको छ”, वडाध्यक्ष माङ्गपाहाङ्गले भन्नुभयो, “यो खोला भएर बनेका सबै सडक बगाएको अवस्था छ । सडक अवरोध हुँदा दैनिकी निकै कष्टकर बनेको  छ । यहाँको क्षतिको विषयमा राज्यले ध्यान आवश्यक छ ।”

बाढीले १६ वटा सिँचाइ कुलोसँगै एक झोलुङ्गे पुल बगाएको छ । यो खोलामा निर्माण भइरहेको पक्की पुलमा समेत क्षति पुर्याएको वडाध्यक्ष माङ्गपाहाङ्गले बताउनुभयो । टेम्केमैयुङ–९ लेखर्कमा बाढीले ठूलो क्षति गरेकाले राज्यले ध्यान दिन आवश्यक रहेको उहाँको भनाइ छ । जेठ ३१ गते राति आएको बाढीले एक इन्जिनियरको ज्यानसमेत गएको थियो ।

“बाढीका कारण एक महिनादेखि यातायात सञ्चालनमा समस्या छ”, उहाँले भन्नुभयो, “खोलाले धेरै ठाउँमा कटान गरेकाले कतिपय बस्ती जोखिमा छन् । सिँचाइ कुलो बगाउँदा किसानलाई खेती गर्न समस्या रहेको छ । यस्तो अवस्था हुँदा पनि राज्यको खासै ध्यान पुगेको देखिँदैन ।”

 

 

 

बुधबार १० साउन २०८० ०९:५३ AM मा प्रकाशित

प्रतिक्रिया