×

नेकपा एमालेले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने

images

काठमाडौं,१० साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज बस्ने प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने भएको छ । नयाँ बानेश्वरमा मध्यान्ह १ बजे बस्ने बैठकमा एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतको राजीनामा माग्ने भएको हो ।

 संसद बैठकमा गत साउन ३ गते त्रिभुवन विमानस्थलबाट बाहिरिएपछि राजश्व अनुसन्धानले करिब एक क्विन्टल सुन बरादम भएको बारेमा गृहमन्त्री  श्रेष्ठ र अर्थमन्त्री महतको राजीनामा माग गर्दै एमालेले सदन अवरुद्ध गर्ने तयारी गरेको एमाले प्रमुख सचेतक पदम गिरीले  जानकारी दिए ।

त्रिभुवन विमानस्थलमा भन्सार जाँच पास गर्ने कार्यमा गृह मन्त्रालय र अर्थ मन्त्रालय अन्तर्गतका निकायहरु रहने हुँदा दुवै मन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने एमालेको धारणा रहेको गिरीले बताए । गिरीले भने– ‘संसदमा कसरी प्रस्तुत हुने भन्ने बारेमा १२ बजे बस्ने संसदीय दलको बैठकले निर्धारण गर्नेछ । क्विन्टलका क्विन्टल सुन तस्करीमा गृह प्रशासन र अर्थमन्त्रालयका कर्मचारीको संलग्नता प्रष्ट देखियो । भन्सारका कर्मचारी र प्रहरीको संलग्नता देखियो । सामान्य कर्मचारीको मात्र संलग्नता हैन भन्ने हाम्रो भनाई हो । यसको जिम्मेवारी मन्त्रीहरुले लिनैपर्छ । यी विषय लिएर हामी संसदमा प्रस्तुत हुन्छौँ ।’

उक्त विषयमा पार्टीको थप धारणा तय गर्न एमालेले संसदीय दलको बैठक पनि डाकेको छ । संसदीय दलको बैठक मध्यान्ह १२ बजे नयाँ बानेश्वरस्थित संसदको लोत्से हलमा बस्नेछ । गत बुधबार त्रिभुवन विमानस्थलबाट बरामद गरिएको १०० केजी सुन प्रकरणमा सरकारले प्रतिपक्षी दलहरुलाई आक्षेप लगाएको भन्दै एमाले रुष्ट छ।

यही प्रकरणमा एमालेले सरकारसँग धारणा माग्ने भएको छ। कम्बोडिया भ्रमणबाट फर्किने क्रममा सोमबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठको चर्को आलोचना गरेका थिए। उनले गृहमन्त्रीको गैरजिम्मेवारीपनले हद नाघेको भन्दै आक्रोश पोखेका थिए। सुन प्रकरणमा केही सञ्चारमाध्यमहरुले व्यवसायी दीपक मल्होत्रा र एमाले अध्यक्ष ओलीलाई जोड्दै आएका छन्। 

बुधबार १० साउन २०८० ११:४१ AM मा प्रकाशित

प्रतिक्रिया