×

रास्वपा महाधिवेशन: संस्थापन पक्षका विपिन र सोविताको सानदार जित, पराजित भएपछि मनिष झाले के भने?

images

चितवन, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनबाट उपसभापतिमा सोविता गौतम र महामन्त्रीमा विपिन कुमार आचार्य निर्वाचित भएका छन्। चितवनमा जारी महाधिवेशन अन्तर्गत शुक्रबार सम्पन्न पदाधिकारीको दोस्रो चरणको निर्वाचनबाट उनीहरू नयाँ नेतृत्वमा चुनिएका हुन्।

पार्टीको महिला उपसभापति पदका लागि भएको अत्यन्तै रोचक प्रतिस्पर्धामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसमेत रहेकी सोविता गौतम विजयी भएकी छिन्। उनले आफ्नी निकटतम प्रतिद्वन्द्वी डा. तोसिमा कार्कीलाई २१७ मतको अन्तरले पराजित गरिन्। खसेको कुल मतमध्ये सोविता गौतमले ७८९ मत प्राप्त गर्दा डा. तोसिमा कार्कीले ५७२ मत मात्रै ल्याउन सकिन्। यसअघि रास्वपाका अर्का नेता डा. स्वर्णिम वाग्ले भने उपसभापति पदमा निर्विरोध निर्वाचित भइसकेका छन्। 

हेभीवेट आकांक्षीहरूलाई पछि पार्दै विपिन बने महामन्त्री
यसैगरी पार्टीको खुला महामन्त्री पदमा पनि संस्थापन पक्षकै वर्चस्व कायम भएको छ। रास्वपाका पूर्व सहमहामन्त्री एवं वर्तमान प्रतिनिधि सभा सदस्य विपिन कुमार आचार्य ६७३ मतका साथ महामन्त्रीमा निर्वाचित भएका हुन्। उनले आफ्ना बलिया प्रतिस्पर्धी मनिष झा, सागर ढकाल र गणेश कार्कीलाई पराजित गरे। आचार्यका निकटतम प्रतिद्वन्द्वी मनिष झाले ३४६ मत प्राप्त गरे।

मतदान प्रक्रिया सुरु हुनु अगावै पूर्वमहामन्त्री कबिन्द्र बुर्लाकोटी, गणेश पराजुली, शिशिर खनाल, प्रमोद न्यौपाने र जगदीश खरेल लगायतका ६ जना हेभीवेट नेताहरूले आचार्यलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उनको जित सहज बनेको हो।

पराजित भएपछि मनिष झाको प्रतिक्रिया: "गुट र टिके प्रथा रोक्न मेरो उम्मेदवारी थियो"
नतिजा सार्वजनिक भएलगत्तै पराजित उम्मेदवार मनिष झाले लोकतान्त्रिक परिणामलाई सहजै स्वीकार गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्, "पार्टीभित्र गुटबन्दी र 'टिके' राजनीतिको अभ्यास नहोस् भन्नका लागि मैले महामन्त्रीमा उम्मेदवारी दिएको थिएँ। नेतृत्वले निर्वाचनको लोकतान्त्रिक विधिलाई स्वीकार गरेकोमा धन्यवाद। म पराजय स्वीकार गर्दै नवनिर्वाचित महामन्त्री विपिन आचार्यलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँछु।"

मतदानमा उत्साहजनक सहभागिता रहेन

रास्वपा निर्वाचन आयोगका अनुसार केन्द्रीय सदस्यको निर्वाचनमा २ हजार ९५९ प्रतिनिधिले मतदान गरे पनि दोस्रो चरणको पदाधिकारी निर्वाचनमा भने १ हजार २८९ मत मात्र खसेको थियो। महाधिवेशन व्यवस्थापनमा भएको केही ढिलाइका कारण धेरैजसो प्रतिनिधिहरू मतदान नगरी घर फर्किएकाले पदाधिकारी चयनमा मत संख्या निकै कम खसेको बुझिएको छ। नवनिर्वाचित उपसभापति गौतम र महामन्त्री आचार्यसहित अन्य पदाधिकारीहरूको शपथ ग्रहण कार्यक्रम आजै राति आयोजना गरिने रास्वपाले जनाएको छ। अन्य बाँकी पदाधिकारीहरूको मतपरिणाम पनि आउने क्रम जारी रहेको छ।

शुक्रबार​ १२ असार २०८३ ०७:२५ PM मा प्रकाशित

प्रतिक्रिया