×

नीति तथा कार्यक्रममाथिको छलफल जारी

images

प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेको छ । आजको बैठकमा जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले काठमाडौँ, धरानलगायत स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले जित्नु राजनीतिप्रतिको असन्तुष्टि भएको बताउँदै दलको समयमै चेत खुल्न जरुरी रहेको औँल्याउनुभयो ।


सांसद यादवले सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै कार्यक्रम हेर्दा लागु गर्न सकेका अवस्थामा नेपालको कायापलट हुने भए पनि नीति र कार्यक्रमको संयोजनको अभाव देखिएको उहाँले बताउनुभयो । बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले चुनाव निष्पक्ष नभएको आरोप लगाउँदै विभिन्न क्षेत्रमा आफ्नै सांसदमाथि नै आक्रमण भएको दावी गर्नुभयो । 

आजको बैठकमा नीति तथा कार्यक्रमको संशोधनका लागि सूचना पेश गर्नुभएका विभिन्न दलका छ सांसदसहित प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनाललगायत विभिन्न दलका सांसदले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनुभएको छ । छलफल शुक्रबार पनि जारी रहनेछ । 

प्रतिनिधिसभा बैठकको अन्तमा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति  पूर्णकुमारी सुवेदीले ‘कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन २०७९’ र महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले ‘महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन २०७९’ पनि पेश गर्नुभएको थियो । बैठक भोलि शुक्रबार ११ बजे बस्ने गरी सकिएको छ । 

बिहीबार १२ जेठ २०७९ ०७:५२ PM मा प्रकाशित

प्रतिक्रिया