×

जलहरी राख्ने क्रममा ११ किलो तलमाथि भएको छ, त्यो सुन कसले खायो ? त्यसको जिम्मेवारी ओलीले नै लिनुपर्छ ( के बोलेका थिए त सांसद दाहालले)

images

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले संसदमा आफ्ना विषयवस्तुहरु उठान गर्न पाइने बताएका छन् ।

शुक्रवार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जेठ १० गतेको बैठकमा सत्ता पक्षकै सांसद लेखनाथ दाहालले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पशुपतिनाथको मन्दिरको गर्भगृहमा राखिएको सुनको जलहरीमा भष्टाचार गरिएको आरोप लगाएको भनी आपत्ति जनाएका थिए।  सरकारलाई त्यसको जवाफ दिन माग गर्दै एमालेका सांसदहरुले संसद चल्न नदिने अडान लिएका थिए ।

साथै  उनले  तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा पशुपतिनाथको मन्दिरको जलहरी राख्ने क्रममा ११ किलो तलमाथि भएको भन्दै त्यसको जिम्मेवारी पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन् ।  शुक्रवार बसेको प्रतिनिधिसभाको बैठक सांसद दाहालले उठाएको पशुपतिको सुनको जलहरीको कुरालाई लिएर एमालेले संसद् अवरुद्ध गरेको थियो । 

संसद् अवरुद्ध भएपछि संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले आफूले अघिल्लो बैठकमा त्यसबारे बोल्दा केपी ओलीलाई तोकेर नबोलेको र तत्कालीन सरकारको पालामा भएको सो घटनाको उनले जिम्मेवारी लिनुपर्ने बताए ।  सांसद दाहालले भने– ‘माननीय केपी शर्मा ओलीज्यूले यो सरकारले भ्रष्टाचार नियन्त्रण गर्दैन, यो भ्रष्ट्राचारीहरूको गठबन्धन हो भन्ने सन्दर्भमा तपाईँले विगततिर फर्कनुस्, तपाईँले विगतमा ३ वर्ष शासन सत्ता सञ्चालन गरिरहँदा त्यहाँ भएका भ्रष्टाचार काण्डहरू कयौँ छन् ती मध्ये यति, ओम्नी, वाइड बडी, बालुवाटार जग्गा प्रकरण, गोकर्ण रिसाेर्ट प्रकरणका साथै स्वास्थ्य सामग्रीको २ अरब भ्रष्टाचार काण्ड र त्योसँगै पशुपतिनाथको जलहरी लगाउँदा पित्तल लगाएको काण्ड जसमा ११ किलो सुन कम भएको महालेखाको प्रतिवेदनमा पनि आएको छ ।’ 

 के बोलेका थिए त सांसद दाहालले -

‘गएको तीन वर्ष सरकारमा जाँदा ७ खर्ब ऋण थियो, १७ खर्ब कसरी पुग्योरु सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन भन्नुभयो, तर उहाँ सरकारमा बस्दा कति भ्रष्टाचारको काण्ड भएरु यति ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्री खरिदमा भएको २ अर्बको भ्रष्टाचार, त्यतिमात्र होइन, पशुपतिनाथमा सुनको जलहरी लगाउँदा पनि सुन लगाउने भनेर पित्तल लगाइदिएर गरेका भ्रष्टाचारहरूका सयौँ यस्ता काण्ड छन् ।’

प्रतिनिधिसभामा एमाले सांसदहरूको अवरोधपछि पनि दाहाल आफ्नो भनाइमा अडिग छन् । उनले सञ्चारकर्मीहरूसँग भने, ‘१० किलो सुन घटी भएको भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ, त्यसबेला के भएको हो भनेर केपी ओलीले जवाफ दिनुपर्छ, ‘मैले त्यतिबेला आएका विषय नै उठाएको हुँ ।’ उनले यस विषयलाई संसदीय छानविन समिति बनाएर निरूपण गरिनुपर्ने बताए।

‘केपी ओलीले मौजुदा सरकारलाई जसरी लाञ्छित गर्ने कोसिस गरिरहनु भएको छ। भ्रष्टाचार आफ्नो पालामा हुने, सबैले देखेका छन् नि, यति, ओम्नी काण्ड, स्वास्थ्य सामग्री खरिदमा भएको घोटाला, गोकर्ण रिसोर्ट कसको पालामा दिइयो? यो तथ्य ओझेलमा पार्न उहाँहरू अनेक हर्कत गर्दै हुनुहुन्छ,’ उनले भने। उनले नीति कार्यक्रममाथिको छलफललाई अन्यत्र मोड्न असंसदीय गतिविधि गरेको दावीसमेत गरे।

‘मैले यसअघि आइसकेकै विषय भनेको हुँ। मैले संसदीय मर्यादाभित्रै रहेर आफ्नो कुरा राखेको हुँ,’ उनले भने, ‘तर, एमालेले आज जसरी उत्तेजित भएर संसदीय मूल्य/मर्यादा नाघिरहेको छ, यसले घाटा उनीहरूलाई नै हुने हो।’ स्थगित भएको प्रतिनिधिसभाको बैठक चल्न सकेको छैन ।

शुक्रबार​ १२ जेठ २०८० ०३:४० PM मा प्रकाशित

प्रतिक्रिया