×

खोला नतरे स्कुल जान पाइँदैन

images

 बिहानको साढे नौ बजेको छ । हातमा किताबकापी बोकेका विद्यार्थी हात ठाडो पारेरमा किताब टाउकोमा राखेर खोला तर्दै छन् । कोही खोला वारी नै खोला तर्न जुत्ता मोजा खोल्दै छन् । कोही पारी पुगेर जुत्ता मोजा लगाउँदै छन् । यो दृश्य हो कपिलवस्तुको विजयनगर गाउँपालिकामा रहेको चिरई खोला किनारको दृश्य हो ।

चिरई खोलामा पुल नहुँदा दैनिक २ सय ६५ भन्दा बढी विद्यार्थी जोखिम मोलेरै विद्यालय आउजाउ गर्छन् । वडा नम्बर–१ मा रहेको आधारभूत विद्यालय थरौलीमा अध्ययनरत विद्यार्थी वर्षादको उर्लंदो भेल होस् वा हिउँदको चिसो जोखिम मोलेर खोला वारपार गर्न विवश छन् । वरिपरि स्कुल र पुल नहुँदा खोला तर्नैपर्ने बाध्यता छ ।

गाउँपालिकाको दालपुर, नौरंगया, छुट्पाटी, खजानिया, उज्ज्वलपुरका बालबालिका दैनिक खोला नतरे स्कुल जान पाउँदैनन् । छुट्पाटी–थरौलीघाट जोड्ने पुल नहुँदा जोखिम यात्रा गर्ने गरेको स्थानीयको भनाइ छ । कक्षा ६ मा अध्ययनरत विद्यार्थी बन्दना पालले खोला तर्दा समय लागेकै कारण कैयौंपटक कक्षामा समयमा उपस्थित हुन नसकेको बताइन् । खोला तर्दा कहिलेकाहीँ त किताब भिज्ने र बगाउने गरेको सुनाइन् ।

पटकपटक पुल माग गर्दासमेत सम्बन्धित निकायको ध्यान नदिँदा वर्षातको समयमा खोला तर्न जोखिम मोल्नुपर्ने बाध्यता रहेको शिक्षिका जसमती यादवले बताइन् । पुल नभएकै कारण वर्षाको समयमा कैयौंपटक विद्यार्थी पढाइ सुरु भइसकेपछि मात्रै विद्यालयमा उपस्थित हुने गरेको उनको भनाइ छ ।

खोलामा पुल नहुँदा स्थानीयलाई आवतजावत गर्न पनि समस्या भएको छ । वर्षौंदेखि पुल नहुँदा स्थानीयले ज्यानकै बाजी लगाएर खोला तर्नुपर्ने बाध्यता रहेको छ । हिँउदको समयमा जोखिम कम हुने भए पनि बर्षातको भेलमा खोला तर्न निकै सकस हुने गरेको आजको राजधानी दैनिकमा खवर छ ।

 

 

शुक्रबार​ १२ जेठ २०८० ०७:५३ AM मा प्रकाशित

प्रतिक्रिया