×

समाजवाद निर्माणका लागि कम्युनिष्ट शक्ति आवश्यकः मन्त्री शर्मा

images

घोराही (दाङ), १३ चैत :  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समाजबाद निर्माणको लागि बलियो कम्युनिष्ट शक्ति आवश्यक रहेको बताउनुभएको छ ।  समाजवादी मोर्चा नेपाल घोराही उपमहागरपालिका–१७ र १८ को संयुक्त वडा भेलालाई आज सम्बोधन गर्दै उहाँले  मुलुकमा राजनीतिक स्थिरता कायम गरी  संविधान तथा राजनीतिक व्यवस्था सुदृढ बनाउन आग्रह गर्नुभयो ।  उहाँले भन्नुभयो, “देशमा राजनीतिक स्थायित्व र स्थिरता प्रदान गर्न अहिले निर्माण भएको समाजवादी मोर्चालाई स्थापित गराइने छ । ”

सरकारका प्रवक्तासमेत रहनुभएका शर्माले  वर्तमान सरकारले समाजवाद लक्षित बजेटको निर्माण गर्ने जानकारी दिनुभयो ।  उहाँले आर्थिक विकास, समृद्धि र स्वाधीन राष्ट्रिय औद्योगिक पुँजीवादको विकासतर्फ राष्ट्रलाई अग्रसर हुँदै समुन्नत समाजवाद निर्माणतर्फ अगाडि बढ्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो,“समाजवाद हासिल गर्न विकास, समृद्धि सामाजिक न्यायसहितको आत्मनिर्भर अर्थतन्त्रको खाँचोे छ  ।”भ्रष्टाचारको अन्त्य गर्न राजनीतिमा शुद्धीकरणको खाँचो औँल्याउँदै उहाँले शिक्षा, स्वास्थ्य, विकास र जनताको समृद्धिका विषयलाई माओवादी पार्टीले प्राथमिकतामा राखेकाले बताउनुभयो ।  

मङ्गलबार १३ चैत २०८० ०९:१९ PM मा प्रकाशित

प्रतिक्रिया