×

नयाँ सरकार गठनको लागि राष्ट्रपति कार्यालयले दिएको समयको आज अन्तिम दिन

images

काठमाडौं ।  नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दलहरूलाई राष्ट्रपति कार्यालयले दिएको समय आज बेलुका सकिँदैछ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन बुझाएपछि राष्ट्रपतिले सात दिनभित्र नयाँ सरकार गठनका लागि पुस ३ गते आह्वान गरेकी थिइन् ।

संवैधानिक व्यवस्था अनुसार प्रतिनिधि सभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दाबी गर्न सक्नेछन् । दाबी पेस गर्ने म्याद सकिन लाग्दा पनि दलहरूले भने सहमति गर्न सकेका छैनन् । हालको सत्ता गठबन्धनले सरकार गठन गर्ने तयारी गरे पनि कसलाई प्रधानमन्त्री बनाउने भन्ने टुंगो लगाउन सकेको छैन ।

नयाँ सरकार गठनका लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेपछि संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था रहेको छ ।

सोही व्यवस्थाअनुसार राष्ट्रपतिले पुस १० गते आइतबार बेलुका ५ बजे भित्र दाबी पेस गर्न राष्ट्रपतिले दलहरूलाई आह्वान गरेकी  हुन् । गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा वा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने भन्ने सहमति भएको छैन ।

यद्यपि, एकीकृत समाजवादीका माधव नेपालसहित आलोपालो प्रधानमन्त्री बन्ने सहमति बनेको स्रोतको दाबी छ । गठबन्धनको बैठक आज  बिहान फेरि बस्ने भएको छ। अब बन्ने सरकारमा गठबन्धनले निरन्तरता पाउने सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दाबी गरेका छन् ।

आइतबार​ १० पुस २०७९ ०९:२७ AM मा प्रकाशित

प्रतिक्रिया