×

रूपान्तरण अभियानले पार्टीलाई थप बलियो बनाएको छ : नेता डा कोइराला

images

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी रूपान्तरण अभियानले पार्टीलाई थप बलियो बनाएको बताउनुभएको छ ।

कांग्रेस पूर्वजिल्ला सभापतिले बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक चुनौती र नेपाली कांग्रेसको दायित्व’ विषयक विचार गोष्ठीमा उहाँले पार्टी रूपान्तरणका सिलसिसिलामा आएका सुझावलाई कार्यान्वयन गर्न सके पार्टी झन् बलियो हुने बताउनुभएको हो ।

 नेता डा कोइरालाले कांग्रेसलाई विधानअनुसार अगाडि बढाउन सके पार्टीभित्रको चुनौती कम हुँदै जाने उल्लेख गर्नुभयो । उहाँले भ्रष्टाचारमा शून्य सहनशीलता नअपनाए कांग्रेसको औचित्यसमेत समाप्त हुने बताउनुभयो । “जता हे¥यो त्यतै भ्रष्टाचार भएको देखिन्छ, भ्रष्टाचारमा शून्य सहनशीलता नअपनाए कांग्रेसको औचित्य समाप्त हुन्छ”, उहाँले भन्नुभयो । 

 फौजदारी मुद्दा लागेका व्यक्तिलाई राजनीतिक मुद्दा भनेर छुट दिन लागिएको उहाँको भनाइ थियो । नेता डा कोइरालाले केन्द्रीय कार्यसमितिको बैठकपछि पार्टीलाई विधि र विधानसम्मत रूपमा चलाउने विश्वास व्यक्त गर्नुभयो ।

कांग्रेस उपसभापति धनराज गुरुङले मुलुकको रूपान्तरणका लागि पार्टीभित्र रूपान्तरणको खाँचो रहेको बताउनुभएको हो । “कांग्रेसभित्र रूपान्तरणको मुद्दा सकिएको छैन, १५औँ महाधिवेशनमा पार्टीको नेतृत्व बदल्ने हो”, उहाँले भन्नुभयो । 

कानून, न्याय तथा संसदीय मामिलामन्त्री मन्त्री गुरुङले उच्च तहका नेताको सम्पत्ति छानबिन गर्न छानबिन समिति आयोग गठन गर्ने बताउनुभयो । उहाँले भ्रष्टाचारका ठूलाठूला फाइल खोल्दै अनियमितता गर्नेलाई कानूनी कठघरामा उभ्याइने बताउनुभयो । “राम्रो काम गर्दा मन्त्री पद गए जान्छ तर निष्ठा, विचार र सिद्धान्त छाड्दिन”, उहाँले भन्नुभयो ।

कांग्रेस नेता डा चन्द्रकान्त भण्डारीले पार्टीको नेतृत्व युवाले लिनुपर्ने बताउनुभयो । उहाँले पार्टीलाई अगाडि बढाउनका लागि युवाहरू एकजुट हुनुको विकल्प नरहेको उल्लेख गर्नुभयो । कांग्रेस नेता गुरुराज घिमिरे, मधु आचार्य, जगदीश्वरनरसिंह केसीलगायतले पार्टीलाई रूपान्तरण गरेर अगाडि बढ्न सकेमात्र कांग्रेसको आगामी भविष्य राम्रो हुने बताउनुभएको थियो ।

मङ्गलबार ९ साउन २०८० ०९:०३ PM मा प्रकाशित

प्रतिक्रिया