×

गण्डकी प्रदेशमा डान्सबार, दोहोरीमा जाने ग्राहकले २५ रुपियाँ कर तिर्नुपर्ने व्यवस्था

images

काठमाडौं । अब ग्राहकले नाइट क्लब गएबापत सरकारलाई कर तिर्नुपर्ने भएको छ। गण्डकी प्रदेश सरकारले नाइट क्लब तथा डान्सबार जाने ग्राहकबाट कर लिने भएको हो। सरकारले आर्थिक ऐन, २०८० मार्फत नाइट क्लब तथा डान्सबार जाने ग्राहकबाट २५ रुपियाँ कर लिने व्यवस्था गरेको हो।

क्यासिनो प्रवेश गर्ने ग्राहकबाट एक सय र नाइट क्लब भिडिओ घर, कन्सर्ट र दोहोरी साँझ जाने ग्राहकबाट २५ रुपियाँ कर उठाइने भएको हो।

ऐनमा मनोरञ्जन करको व्यवस्था गरिएको छ। चलचित्र प्रदर्शन गर्दा टिकट मूल्यको पाँच प्रतिशत रकम करबापत बुझाउनुपर्ने व्यवस्था पनि सोही ऐनले गरेको छ। रात्रिकालीन मनोरञ्जनको क्षेत्र दोहोरी साँझ जाने ग्राहकबाट प्रदेश सरकारले पहिलो पटक कर उठाउन थालेको हो। सरकारले सर्कस, खेलमेला, जादु, चटके र विभिन्न प्रदर्शनीमा बिक्री हुने टिकटको पाँच प्रतिशत रकम कर लिने छ। टिकट व्यवस्था नभएको हकमा भने सरकारले एक दिनसम्म चल्ने सर्कस, खेल, मेला, महोत्सव, जादु, चटकेबाट दुई हजार रुपियाँ कर लिने छ।

सांस्कृतिक प्रदर्शन हल, थिएटररनाटक घर, फनपार्क, वाटर गार्डेन, बाल उद्यानदेखि फुटसल, जुम्बा, मसाज, स्पा, जिपलाइन, बन्जी जम्प, स्विमिङ पुल र पार्क प्रवेश गर्ने व्यक्तिले तिर्ने टिकटको मूल्यको पाँच प्रतिशत रकम करबापत सरकारलाई बुझाउनुपर्ने हुन्छ। प्राचीन स्मारक तथा पुरातात्त्विक सम्पदा र सङ्ग्रहालय प्रवेशमा पनि प्रदेश सरकारले कर लगाएको छ। प्रदेश सरकारले प्राचीन स्मारक तथा पुरातात्त्विक सम्पदा र सङ्ग्रहालय प्रवेशमा विदेशी तथा स्वदेशी पर्यटकलाई लाग्ने प्रवेश शुल्कको पाँच प्रतिशत कर लगाएको छ।

प्रदेश सरकारले आर्थिक ऐनमार्फत पर्यटकीय हवाई चार्टर उडान, प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जी जम्प, केबुलकार, जिप फ्लायर, रक क्लाइम्बिङ र क्यानोनिङमा पाँच प्रतिशत कर लगाएको छ। प्रदेश सरकारले पर्यटक सेवा सूचना केन्द्र स्थापना गरी उपलब्ध गराउने सेवामा विदेशी पर्यटकको हकमा प्रतिपर्यटक एक हजार रुपियाँ र स्वदेशी पर्यटकलाई दुई सय रुपियाँका दरले सेवा शुल्क लाग्ने आर्थिक ऐनले उल्लेख गरेको छ।

आइतबार​ १० असार २०८० ०२:३५ PM मा प्रकाशित

प्रतिक्रिया