×

कांग्रेस र एमालेबीचको बैठक सकारात्मक, देउवा र ओलीबीच आज पनि छलफल

images

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबीच अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन  (एमसिसी)  संसद्बाट अनुमोदन गर्ने सम्बन्धमा सकारात्मक छलफल भएको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताबीच बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । उहाँहरुबीच एमसिसी सम्झौता संसद्बाट अनुमोदन गर्ने, संसद्को अवरोध हटाउनेलगायत विषयमा छलफल भएको भेटमा सहभागी कांग्रेस महामन्त्री गगनकुमार थापाले  दिए ।

देशको गिजोलिएको राजनीतिलाई निकास दिन काँग्रेस र एमाले फेरि एकै ठाउँमा उभिनुपर्ने बेला आएको दुवै पार्टीका नेताहरूले निष्कर्ष निकालेका हुन् । दुई पार्टी मिल्दा संविधान जारी भएको इतिहासलाई स्मरण गर्दै मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्ने विषयमा देखिएको अन्योल हटाउन पनि दुई दलले फेरि सहकार्य गर्नुपर्ने अवस्था आएको निष्कर्ष दुवै दलका नेताहरूले निकालेका छन् । 

बैठकमा प्रधानमन्त्री देउवाले एमसिसी राष्ट्रिय महत्वको विषय भएको र यस सम्बन्धमा आफ्नो पार्टीले सत्ता रहँदा होस् वा प्रतिपक्षमा रहँदा एउटै धारणा राख्दै आएको उल्लेख गर्दै यसलाई अन्यथा विषय नबनाउन आग्रह गरेका थिए । महामन्त्री थापाका अनुसार  प्रधानमन्त्री देउवाले नेपाल सरकारले सम्झौता गरी अनुमोदन गर्ने जनाइसकेपछि अन्यथा कुरा गर्दा मुलुकको अन्तर्राष्ट्रिय सम्बन्धमा विश्वास गुम्ने चिन्ता व्यक्त गर्दै यस सम्बन्धमा एमाले पनि स्पष्ट छ भन्ने आफ्नो धारणा रहेको बताएका थिए ।

बिहीबार साँझ बसेको बैठकमा नेपाली काँग्रेसको तर्फबाट पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी थिए भने नेकपा एमालेको तर्फबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ रहेका थिए । बालुवाटारमा दुई पक्षीय छलफलका साथै प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच करिब २० मिनेट वान टु वान वार्ता पनि भएको थियो ।

संसद्मा दर्ता भएको लामो समयपछि यही फागुन ८ गते प्रतिनिधिसभामा टेबल भएको एमसिसी परियोजनालाई दलहरूबीच सहमति जुटाएर संसद्बाट अनुमोदन गराउन प्रधानमन्त्री देउवाले दलीय परामर्शलाई तीव्र परेका छन । 

साथै प्रधानमन्त्री देउवा र ओलीबीचको छलफल आज पनि हुने भएको छ । संसदमा टेबुल भएको एमसीसी पारित गराउनेबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान देउवा र ओलीबीच छलफल हुने भएको हो ।

यसअघि बिहीबार पनि बालुवाटारमा प्रधानमन्त्री देउवा र ओलीबीच वार्ता भएको थियो । त्यसक्रममा ओलीले आफ्ना पुरानै अडान राखेका थिए ।आफ्नो दलले कारवाही गरेका माधव नेपालसहित १४ जना सांसदहरुलाई कारवाही या सभामुखको राजीनामा हुनुपर्ने ओलीले सर्त राखेका थिए । वार्तामा सहभागी सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले बताएर अनुसार नेकपा एमालेका माग सम्बोधन नभएसम्म अन्य विषयबारे सोच्नसमेत नसकिने अडान ओलीले राखेका थिए ।

शुक्रबार​ १३ फागुन २०७८ ०७:५७ AM मा प्रकाशित

प्रतिक्रिया