×

एमालेको सचिवालय बैठक बस्दै, राष्ट्रपति निर्वाचन र सरकारबाट बाहिरिने विषयमा निर्णय गर्ने

images

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । राष्ट्रपति निर्वाचन र सरकारबाट बाहिरिने विषयमा छलफल गर्न एमालेको सचिवालय बैठक आज बस्न लागेको हो ।

राष्ट्रपति पदका लागि आज उम्मेदवारी मनोनयन हुने भएकोले उम्मेदवारी दिने या नदिने तथा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा पनि आजको बैठकले ठोस निर्णय दिने बताइएको छ ।  नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएको भोलिपल्ट एमालेको सचिवालय बैठक बस्न लागेको हो। 

पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’बारे छलफल गर्न बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

बैठक बिहान ९ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बस्नेछ । राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन र यही फागुन २५ गते निर्वाचन हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन तोडेका छन् । प्रधानमन्त्री प्रचण्ड पुरानै गठबन्धनमा फर्किएपछि एमाले सरकारबाट बाहिरिने तयारी गरेको हो । राष्ट्रपति निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका छ। नेपालको संविधान २०७२ जारी भएपछि राष्ट्रपति पदको यो तेस्रो निर्वाचन हो ।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा मनोनयन दर्ता हुनेछ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयले अहिले बिहान १० बजेदेखि अपराह्न ३ बजेभित्र उम्मेदवारी दर्ता हुने जनाएको छ । निर्वाचन अधिकृत महेश शर्मा पौडेलले मनोनयन पत्र दर्ता भएका उम्मेदवारहरूको सूची आजै प्रकाशन गरिने जानकारी दिए।

राष्ट्रपति पदमा उम्मेदवार हुन वंशजका आधारमा नेपाली नागरिक भएको, कम्तीमा ४५ वर्ष उमेर पूरा भएको, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ अनुसार सङ्घीय कानुनले अयोग्य नभएको र कुनै लाभको पदमा बहाल नरहेको व्यक्ति राष्ट्रपति पदमा उम्मेदवारी दिन पाउनेछन् । तर निर्वाचित र मनोनयनद्वारा पूर्ति हुने पदमा बहाल रहेका व्यक्ति उम्मेदवार हुन पाउनेछन् ।

राष्ट्रपति पदमा मनोनयन दर्ता गर्दा पाँच जना प्रस्तावक र पाँच जना समर्थक हुनुपर्नेछ । राष्ट्रपतिको निर्वाचनमा निर्वाचन अधिकृतले जारी गरेको मतदाता नामावलीमा नाम भएको व्यक्ति प्रस्तावक र समर्थक हुनुपर्नेछ । निर्वाचन आयोगले प्रकाशन गरेको निर्वाचन तालिकाबमोजिम फागुन १४ गते आइतबार उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम छ ।

उम्मेदवारविरुद्ध परेको उजुरीउपर छानबिन गरी फागुन १५ गते सोमबार निर्वाचन अधिकृतको कार्यालयले जाँचबुझ गरी निर्णय गर्नेछन् । फागुन १६ गते मङ्गलबार उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

शनिबार १३ फागुन २०७९ ०८:५३ AM मा प्रकाशित

प्रतिक्रिया