×

संबिधान र गणतन्त्र रक्षाका लागि गठबन्धनलाई जिताऔं

images

टीकापुर । कैलालीको धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय संयुक्त प्रशिक्षण भेलालाई सम्बोधन गर्दै सत्ता गठबन्धनका शिर्ष नेताहरुले संबिधान र गणतन्त्र रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई बिजय गराउन आग्रह गरेका छन । उनीहरुले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि अहिले देशमा एउटा संबिधान पक्षधर अर्को संबिधान बिरोधी गठबन्धन बनेको आरोप लगाए ।

भेलालाई सम्बोधन गदै शिर्र्ष नेताहरुले सत्ता गठबन्धन संबिधान पक्षधर रहेकाले आगामी निर्वाचनमा गठबन्धनलाई बिजयी गराउन आग्रह गरे । भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संबिधान, गणतन्त्र र संघीयता बचाउन गठबन्धका उम्मेदवारलाई मत दिएर विजयी गराउन आग्रह गरे । उनले २०७४ को निर्वाचनमा सुदूरपश्चिमबाट संघीय सांसदमा आफू एक्लो जितेको सांसद भएको बताउँदै अहिले प्रधानमन्त्री बनेको बताए ।

उनले प्रचण्ड, माधब नेपाल लगायतले संबिधान र गणतन्त्र रक्षा गर्नका लागि आफुलाई साथ दिएकाले अहिलेको निर्वाचनमा उनीहरुसंगै गठबन्धन गरि अघि बढेको बताए । प्रधानमन्त्री देउवाले भने–‘म काँग्रेसका साथीहरुलाई आग्रह गर्छु गठबन्धमा आबद्ध दलका चुनाव चिन्हमा मतदान गर्न कुनै अपठ्यारो नमान्नुस, ढुक्क भएर मतदान गरि गठबन्धनलाई जिताउनुहोस ।’निर्वाचनमा टिकटबाट बन्चित भएका साथीहरुलाई निर्वाचन पछि बिभिन्न अवसर प्राप्त हुने पनि बताए ।

यसैगरी भेलालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले १२ बुँदे शान्ती सम्झौता देखि नै काँग्रेसले हसिँया हतौडा र माओवादीले रुखमा भोट हालिसकेकाले अहिले एक अर्कालाई भोट हाल्न कुनै अपठ्यारो नमान्न कार्यकर्तालाई आग्रह गरे ।

भेलालाई सम्बोधन गर्दै एकिकृत समाजवादीका अध्यक्ष माधब नेपालले संबिधान रक्षाका लागि आफुहरुले ठुलो बिद्रोह गरेको बताए । उनले २०७४ सालमा सम्पन्न निर्वाचनले एमालेलाई ठुलो अवसर दिएको तर केपी ओलीको नेतृत्वले राम्रो गर्न नसकेपछि बिद्रोह गरेर केपीलाई एक्लो बनाई काँग्रेससंग गठबन्धन गरेर संबिधान र गणतन्त्रलाई बचाएको दाबी गरे ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनका उम्मेदवारलाई सबै दलले आफ्नै उम्मेदवार ठानेर जिताउन आग्रह गरे । उनले भने–‘यदि यो गठबन्धन सफल भएन भने राष्ट्रमाथि खतरा हुन्छ, त्यसैले सबै गठबन्धनका पक्षमा प्रतिबद्ध भई जिताउन लाग्नुहोस ।’

राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले आफ्नो पार्टी संघीयता बिरोधी भएपनि गणतन्त्र बचाउन यस गठबन्धनमा सहभागि भएकाले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । राजधानी दैनिकबाट

सोमबार ७ कात्तिक २०७९ ०९:३५ AM मा प्रकाशित

प्रतिक्रिया