×

अब फुटेर गएका माओवादीका टुक्राहरु पनि एक हुन्छन

images

काठमाडौं। नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई कसैले फुटाउन नसक्ने बताएका छन्।

शनिबार काठमाडौंमा माओवादी केन्द्र नुवाकोट सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै पार्टी फुटाउने षड्यन्त्र प्रतिक्रियावादीहरुले पटक पटक गरेपनि कसैले फुटाउन नसक्ने बताएका हुन्। केही समयपछि फुटेर गएका माओवादीहरु पनि एकताबद्ध हुने भन्दै यसका लागि वार्ता चलिरहेको उनले बताए।

प्रचण्डले पार्टीलाई बलियो बनाउदै अघि बढाउन सके आगामी निर्वाचनमा ६४ सालको हैसियतमा पुग्ने सकिने धारणा राखे।

उहाले माओवादी नेतृत्वको सरकारले भ्रष्टाचारबिरुद्ध अभियान सुरु गरेको र यसैका कारण कांग्रेस–एमाले मिलेर आफु नेतृत्वको सरकारलाई हटाएको जिकिर गरे। अहिलेको सरकार भ्रष्टाचारीहरुकै सरकार भएको उनले बताए।

प्रचण्डले अँध्यारोमा रमाउनेहरुलाई अहिले उज्यालो मन नपरेको भन्दै अँध्याराका पक्षपातीहरुले विद्युत वक्यौतामा विवाद निकालेको तर्क गरे। त्यस्तै उनले संविधान संशोधनका नाममा मुलुकलाई पछाडि फर्काउने षडयन्त्र माओवादी रहदासम्म सफल हुन नदिने स्पष्ट पारे।

उनले आत्मसमिक्षाका साथ जनताको घर घरमा जान र माओवादीले गरेका कामहरुका बारेमा जानकारी गराउन नेता तथा कार्यकतालाई निर्देशन समेत दिए।

साथै प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन संशोधन भएपछि माओवादीलाई ढुक्क भएको बताएका छन् ।


‘अब तपाईं हाम्रो टाउकोमा तरबार झुण्ड्याएको जस्तो थियो, त्यो तरबार हट्यो, अब डराउनुपर्ने अवस्था छैन’, उनले भने ।   
माओवादी सशस्त्र युद्ध सकिएको १८ वर्ष भइसक्दा पनि शान्ति प्रक्रियाको कामहरु पूरा भएको छैन ।

हालै प्रतिनिधिसभा र राष्ट्रियसभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनको संशोधन विधेयक पारित भएको छ ।

शनिबार ८ भदौ २०८१ ०६:३५ PM मा प्रकाशित

प्रतिक्रिया