×

रित्तिदै गाउँ, जीर्ण बन्दै घर

images

इच्छाकामना गाउँपालिका–३ खानी गाउँका ज्ञानबहादुर मगरलाई आजभोलि गाउँघर शून्य लाग्छ । गाउँमा पहिले जस्तो गाउँमा चहलपहल छैन । धेरै मानिसहरु बसाइँसराइ गरी बजार पुगेका छन् । “घरमा श्रीमान र श्रीमती मात्रै छाैँ”, मगरले भन्नुभयो, “कोही छोरा भरतपुर त कोही विदेशमा छन् ।” पहिले १२ घरपरिवार रहेको खानी गाउँमा अहिले पाँच÷छ घर मात्रै छन् ।

केटाकेटी पनि पढ्नका लागि बजार झरिसकेको र गाउँमा बुढापाका मात्रै बाँकी भएको उहाँको भनाइ छ । सोही वडाको कुयलघारीमा अधिकांश घर खाली छन् । यो भूकम्प प्रभावित ठाउँ पनि हो । भूकम्पपछि यहाँबाट बसाइँसराई गर्ने बढेका थिए ।

यस ठाउँलाई भूकम्पको जोखिमयुक्त ठाउँ घोषणा गरेपछि झन् गाउँ छाड्ने बढेको कुयलघारीका सन्तुलाल विकले बताउनुभयो । मानिसको बसोबास घट्दै गएपछि खेतयोग्य जमिन बाँझो हुन थालेको छ ।

पशुपालन र कृषि कर्म पनि घट्दै गएको छ । खानीगाउँ र कोयलघारीमा एक सय आठ घरधुरी छन् । यहाँ मगर, गुरुङ, चेपाङ र दलित समुदायको बसोबास छ । स्थानीय झुमाकुमारीले कोही छोराछोरी पढाउन भन्दै बजार गएको र कोही कमाउन भन्दै विदेश गएपछि गाउँमा चहलपहल कम हुँदै गएको बताउनुभयो ।

खानीगाउँदेखि नारायगणगढ–मुग्लिन राजमार्ग पाँच किलोमिटर दूरीमा पर्दछ । गाउँमा अहिले मोटरबाटो पुगेको छ । विद्युत्, खानेपानीको सबै सुविधा पनि आइसकेको छ । विकास पुगेपछि पशुपालन र खेतीपाती कम हुँदै गएको कुयलघारीका सेतु विकको भनाइ छ ।

“यहाँका जमिन बाँझै छन् । मानिस सहर पसँे । गाउँमा भएकाले पनि काम गर्न छाडे”, उहाँले भन्नुभयो । मानिसको बसोबास कम हुँदै गएपछि यहाँका घर जीर्ण बन्दै गएको इच्छाकामना गाउँपालिका कार्यपालिका सदस्य परिमाया कामीले बताउनुभयो । युवाहरुले गाउँ छाडेपछि खेती हुन छाडेको छ भने यहाँ उत्पादन हुने फसलले छ महिना पनि नपुग्ने उहाँको भनाइ छ । पहिले जस्तो उत्पादन पनि हुँदैन त्यसैले बजारबाट सामान किन्नुपर्ने बाध्यता छ । यहाँका मानिसहरु बाख्रा बिक्रीबाट कमाएको र विदेशबाट पठाएको पैसाले जीविकोपार्जन भइरहेको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । “किसानका लागि गाउँपालिकाले कृषिका कार्यक्रम ल्याएको छ । तर उक्त सुविधा लिने कोही छैनन्”, उहाँले भन्नुभयो, “गतवर्ष छुट्याइएको बजेट पनि खर्च भएन ।”

गाउँपालिकाले ५० प्रतिशत अनुदानमा खोर र गोठ सुधारका कार्यक्रम ल्याएको थियो । उहाँले पालिकाले गाउँमा बाँझै रहेका खेतबारीमा व्यावसायिक कृषिका लागि योजना बनाएर काम गर्ने बताउनुभयो । यहाँका मानिस भरतपुर, सिमलढाप र गैँडाकोट लगायतका क्षेत्रमा बसाइसराइ गर्ने गरेका छन् । बसाइसराइ गरी जाने अधिकांशले जमिनसमेत बिक्री गरिसकेका छन् ।

बिहीबार ७ भदौ २०८० ०२:३१ PM मा प्रकाशित

प्रतिक्रिया