×

नक्कली भुटानी शरणार्थी प्रकरण- राईको गाडीमा एक करोड राखिदिएपछि उहाँले काम हुन्छ भन्नुभयो, नैनकला थापालाई क्वार्टर मै पुगेर १ करोड रुपैयाँ दिए

images

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलसहित ५ जनाविरुद्ध पनि पूरक अभियोजन लैजान बाटो खुला गर्दै प्रहरीले प्रतिवेदन बुझाएको छ। एमालेका उपाध्यक्ष बादल, उनकी पत्नी नैनकला पूर्वगृहसचिव एवम् अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई, एमालेका पूर्व प्रदेश सांसद अजयक्रान्ति शाक्य र एमाले अध्यक्ष केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको समेत नाम प्रतिवेदनमा उल्लेख गरिएको छ। 

उनीहरुविरुद्ध थप प्रमाण जुट्नासाथ पूरक अभियोग लैजान बाटो खुल्ला गरिएको हो। शरणार्थी प्रकरणको सुरुवात बादल गृहमन्त्री र राई गृहसचिव हुँदा भएको थियो।  शरणार्थी प्रकरणमा मुख्य योजनाकार भनिएका सानु भण्डारीले तत्कालीन गृहमन्त्री रामबहादुर थापाकी पत्नी थापालाई मन्त्री क्वार्टर पुलचोकमै पुगेर १ करोड रुपैयाँ दिएको बयान दिएका छन् ।

सुरुमा इन्कारी बयान दिएका भण्डारीले थप बयानमा भने थापालाई सो रकम बुझाएको बताएका हुन् । त्यस्तै, भण्डारीले तत्कालीन गृह सचिव  राईको गाडीमा एक करोड राखेको पनि दाबी गरेका छन् । भण्डारीका अनुसार इन्द्रजीत राईले ‘यो गाडी सचिव ज्यूको हो’ भन्दै उक्त रकम गाडीमा राख्न लगाएर सचिवको कार्यकक्षमा बोलाएका थिए । त्यसपछि राईले ‘अब तपाईंहरुको काम हुन्छ, तपाईंहरु जानु’ भनेर विश्वास दिलाएको भण्डारीको बयानमा उल्लेख छ ।

त्यस्तै, टोपबहादुर रायमाझीलाई २०७६ आसर २८ गते ललितपुरस्थित उनको घरमा गई १ करोड ६० लाख दिएको र बाँकी ४० लाख रुपैयाँ उनको छोरा सन्दीप रायमाझीलाई भुक्तान गरेको बताएका छन् । गृहमन्त्री बादलका छोरा प्रतीक फरार छन्। उनलाई भने प्रहरीले प्रतिवादी बनाउन राय दिएको छ। उनको संलग्नता रहेको प्रमाणसहित बुझाइएको प्रहरीको दाबी छ। 

प्रहरी उच्च स्रोतका अनुसार नैनकलाले समेत रकम बुझेको बिचौलियाले बयानमा बताएका छन्। त्यसको पुष्टि प्रतीकको म्यासेजबाट समेत भएको छ। आमाले रकम बुझिसकेको भनेर प्रतीकले बिचौलियालाई म्यासेज गरेको प्रहरीलाई बताएका छन्।

यस्तै नेकपा एमाले अध्यक्ष केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्य र पूर्व प्रदेश सांसद अजयक्रान्ति शाक्यको पनि नाम उल्लेख गरिएको छ। उनीहरुलाई पनि रकम बुझाएको प्रतिवादीको बयान छ। उनीहरुको नाम बयानमा उल्लेख भएसँगै अनुसन्धान प्रतिवेदनमा प्रमाण जुटेको अवस्थामा पूरक अभियोग दर्ता हुन सक्ने उल्लेख गरिएको छ। 

तर यसअघि चर्चा भएका शेरबहादुर देउवा पत्नी आरजु राणा र बालकृष्ण खाँण पत्नी मञ्जु खाँणको भने प्रतिवेदनमा नाम उल्लेख गरिएको छैन। उनीहरुको नाम बयानका क्रममा प्रतिवादीले नलिएकाले उल्लेख नगरिएको अनुसन्धान अधिकारीले बताएका छन्। 

उनीहरुविरुद्ध कुनै पनि प्रमाण फेला नपरेको प्रहरीको दाबी छ। तर पछि अन्य जाहेरी परेर अनुसन्धान हुँदा प्रमाण जुटेमा कसैले पनि उन्मुक्ति नपाउने प्रहरीले जनाएको छ।  

बुधबार १० जेठ २०८० ११:४७ AM मा प्रकाशित

प्रतिक्रिया